१३ बैशाख २०८१, बिहीबार
Follow Us

विराटनगर र धनगढीबाहेक आज साँझसम्म मतगणना सकिने

नेपालब्रिटेन डट कम्
२१ असार २०७४, बुधबार ०६:२७

काठमाडौं । विराटनगर महानगरपालिका र धनगढी उपमहानगरपालिका बाहेक सम्पूर्ण मत गणना आज साँझसम्म सकिने निर्वाचन आयोगले जनाएको छ । विराटनगरमा ८० हजारभन्दा बढी मत खसेकाले मत गन्न थप समय लागेको हो । धनगढीमा मत गणनामा विवाद उत्पन्न भएपछि गन्न ढिलो भएको हो ।
असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये ३ सय ४ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म ३८ नगरपालिकासहित १ सय ३३ स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसल ३८ नगरपालिकासहित १ सय १५ स्थानीय तहमा जीत हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले आठ नगरपालिकासहित ३६ स्थानीय तहमा जीत दर्ता गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा उप–महानगरपालिका र दुई वटा गाउँपालिकामा जीत हात पारेको छ । राष्ट्रिय जनमोर्चाले दुई, संघीय समाजवादी फोरमले ६ र नेपाल लोकतान्त्रिक फोरमले एक नगरपालिकासहित ६ स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै दुई जना स्वतन्त्रका उमेदवारले पनि जीत हात पारेका छन् ।