१२ बैशाख २०८१, बुधबार
Follow Us

विदाइमा म्यादी प्रहरीको आँखा रसाए

नेपालब्रिटेन डट कम्
२१ असार २०७४, बुधबार १४:२६

भक्तपुर । विदाइका टीका लगाएर प्रमाणपत्र ग्रहण गर्दैगर्दा म्यादी प्रहरी विनिता खड्काको आँखा रसायो । म्यादी प्रहरीमा रहेर दुई महिना प्रहरी कै भूमिका निर्वाह गर्नुभएका उहाँले विदाइको क्षण तीतो भएकाले आँसु रोक्नै नसकेको बताउनुभयो । आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित विदाइ कार्यक्रममा यसैगरी धेरै म्यादी प्रहरीको आँखा आँशुले भरिए ।

म्यादी प्रहरीमा छँदा आफूलाई देशको जिम्मेवार सिपाहीको रुपमा पाएको अनुभव उहाँले व्यक्त गर्नुभयो । भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–८ जितपुरका २० वर्षीया विनितासँगै अरु म्यादी प्रहरी पनि भावविह्वल भए ।

स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दै गरेका विनिताले भन्नुभयो – “म देशको सिपाही भइसकेको थिएँ । प्रहरी मै रहेर देशको सेवा गर्ने चाहना म्यादीमा आएपछि पलायो । अहिले विदाइ भएर जाँदाको क्षण खुशीभन्दा पनि बढी दुःख लागिरहेको छ । सरकारले हामीलाई नै प्रहरीमा भर्ना गर्ने अवसर दिए हुन्थ्यो ।”

सिन्धुपाल्चोक घर भएका व्यञ्जना योञ्जनको चाहना पनि अधूरै रह्यो । पहिलो चरणको चुनावदेखि अहिलेसम्म सुरक्षा फौजी भएर बस्न पाएकामा खुशी लागेपनि अहिले विदाइ भएर जाँदा भने मन निकै दुखेको बताउनुभयो ।

भक्तपुर ताथलीका रोजिन गिरीले पनि विदाइ भएर जाँदाको क्षण पीडादायी भएको अनुभव सुनाउनभयो । “म्यादीमा भर्ना हुन आउँदा छनोटकै क्रममा जति उत्साह भरिएको थियो, विदाइ हुँदा त्यति नै पीडा भएको छ,” उहाँले भन्नुभयो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले भक्तपुरमा रहेका ६०८ म्यादी प्रहरीलाई आज प्रमाणपत्र दिएर विदाइ गर्नुभएको थियो ।