७ बैशाख २०८१, शुक्रबार
Follow Us

वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी सहायता कक्ष स्थापना

नेपालब्रिटेन डट कम्
२१ असार २०७४, बुधबार १४:३१

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले यहाँ आज एक कार्यक्रमकाबीच सहायता कक्षको उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग समन्वय गर्नेगरी कक्षले काम गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिनहुँ वैदेशिक रोजगारीका अनेक समस्या लिएर म कहाँ बिभिन्न व्यक्ति आइरहनुभएको छ, उहाँहरुले अब यही कक्षमा जानकारी गराए पनि माग सम्बोधन हुनेगरी व्यवस्था मिलाएका छौँ ।” कुनै समस्या परे विभाग र बोर्डमा गएर जानकारी वा उजुरी दिनु नै उपयुक्त व्यवस्था हुने तर त्यहाँ समाधान त्यहाँबाट सुनुवाइ नभए यहाँ आएर पनि निवेदन दिन सकिने मन्त्री मन्सुरले बताउनुभयो ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र अत्यधिक लाभदायक बनाउन आफू प्रयत्नशील रहेको उहाँको भनाइ छ । उहाँले निःशुल्क टिकट र प्रवेशाज्ञाको विषयलाई थप प्रभावकारी र लाभदायी बनाउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “म व्यक्तिगत लाभमा चल्ने मान्छे होइन, म रहुँन्जेल विभाग र बोर्डमा पनि लाभ लिने गरी काम गर्नेलाई छोड्दैन ।” पीडितले मन्त्रालयमै आएर, फोन वा इमेलमार्फत पनि आफ्ना गुनासो वा उजुरी दर्ता गर्न सक्नेछन् । कक्षको फोन नं ०१४२११६९६, भाइबर ९८४६०३१२८१ र इमेल ष्लत्रगष्चथ२mयभि।नयख।लउ रहेको छ ।