१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान संशोधन नगरी प्रधानमन्त्री देउवाको भारत भ्रमण नहुने

नेपालब्रिटेन डट कम्
२१ असार २०७४, बुधबार १५:२८

काठमाडौं । भारत भ्रमणको उत्कट चाहना राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई दिल्ली पठाएका थिए । तर दिल्लीबाट परराष्ट्रमन्त्री महरा रित्तो हात फर्केका छन् । परराष्ट्रमन्त्री महराले आज संसदमा दिएको अभिव्यक्तिले उक्त कुरा प्रष्ट हुन्छ । परराष्ट्रमन्त्री महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताएका छन । आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै मन्त्री महराले दिल्लीमा रहँदा प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका हुन ।
प्रधानमन्त्री देउवाको भारत भ्रमण परराष्ट्रमन्त्रीले तय गर्न नसकेपछि राजदूतलाई जिम्मा लगाइएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण तत्काल हुँदैन भन्ने अर्थ यतिबेला कूटनीतिक क्षेत्रमा लगाइएको छ । स्थानीय तहको प्रदेश नं. २ मा तेस्रो चरणको निर्वाचनपछि मात्र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सम्भव हुने बताइएको छ । तेस्रो चरणको निर्वाचन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ । संविधान संशोधन नभइ असन्तुष्ट राष्ट्रिय जनता पार्टी निर्वाचनमा नजाने बताउँदै आएको छ । संविधान संशोधन गरेर तेस्रो चरणको निर्वाचन सम्पन्न गरे मात्र प्रधानमन्त्री देउवाका लागि भारत भ्रमणको बाटो खुल्ने अर्थ कूटनीतिक क्षेत्रमा लगाइएको छ ।