१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भत्किएको बाँध नेपाली सेनाले निर्माण गर्दै

नेपालब्रिटेन डट कम्
२२ असार २०७४, बिहीबार ०६:४२

राजविराज । लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँधलाई निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ । बाढी पीडितलाई मध्यनजर गर्दै राजविराजस्थित कृष्णदल गणबाट ७० जनाको नेपाली सेनाको टोली कटान स्थल पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।

त्यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसमेत बाँध पुनःनिर्माणका लागि बाढी प्रभावित क्षेत्रमा पुगेको बताइएको छ । महुली नदीमा आएको बाढीले केही मिटरको फरकमा विभिन्न पाँच स्थानमा बाँध भत्किएर छेउमै रहेको तिरहुत गाउँपालिका–५ मा रहेको बस्ती पूर्णरुपमा डुबानमा परेको छ ।

यस्तै, सोही बाढीले साबिकको मैनाकडेरी–५, ६, ९ र लोहजरा–८ स्थितको बस्तीमा पानी पसेर घरमा रहेको खाद्यान्न सामग्री, लत्ताकपडासमेत बगाएको र केही घर कटानसमेत गरिएको स्थानीयवासी बिनाई तिवारीले गुनासो गर्नुभयो ।

नदीको पानी सिधै बस्तीमा पस्ने गरेकाले पानीको मात्रा बढ्न थालेपछि घर छाडेर अधिकांश व्यक्ति छिमेकीको शरणमा पुगेका छन् ।