८ बैशाख २०८१, शनिबार
Follow Us

सोमबार मात्रै मन्त्रिपरिषद् विस्तार हुने

नेपालब्रिटेन डट कम्
२२ असार २०७४, बिहीबार १३:४६

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । सत्तारुढ दल माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारमा दबाब दिइरहे पनि प्रधानमन्त्री देउवाले पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताइएको छ । महामन्त्री शंसाक कोइराला विदेश भ्रमणमा रहेका तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुमबहादुर खड्काले भाग खोजेपछि प्रधानमन्त्री तथा पार्टी सभापति देउवा अप्ठ्यारोमा परेका हुन् ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको थियो । कुल ३० वटा मन्त्रालयमध्ये नेपाली कांग्रेसले १२ र माओवादी केन्द्रले १० मन्त्रालय सम्हाल्ने सहमति भएको छ भने बाँकी सात मन्त्रालय राप्रपा, लोकतान्त्रिक फोरम र अन्य साना पार्टीहरूलाई दिने सहमति भएको थियो ।
राप्रपाले चारवटा मन्त्रालय मागेको छ । तर संविधान संशोधनका बेला एक ढिक्का हुने सर्तमा मात्र प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराउने भएका छन् ।
नेपाली कांग्रेस र माओवादीबीच कुन मन्त्रालय कसले सम्हाल्ने ? भन्ने विषयमा एक वर्षअघि नै सहमति भएको थियो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा कांग्रेसले सम्हालेको मन्त्रालय यतिबेला माओवादीले सम्हाल्ने र त्यतिबेला माओवादीले सम्हालेका मन्त्रालय यतिबेला कांग्रेसले सम्हाल्ने सहमति भएको छ । केही मन्त्रालय भने दोहोरिन सक्ने देखिएको छ ।
श्रम तथा यातायात मन्त्रालय फेरि पनि कांग्रेसले सम्हाल्ने मौका पाएको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि कांग्रेसको भागमा पर्ने सम्भावना छ । हिजो माओवादीले सम्हालेका अर्थ र शिक्षा मन्त्रालय कांग्रेसले सम्हालिसकेको छ भने हिजो कांग्रेसले सम्हालेको गृह, परराष्ट्र र सहरी विकास मन्त्रालय माओवादीले सम्हालिसकेको छ ।
समाचार स्रोतका अनुसार नेपाली कांग्रेसले सञ्चार, ऊर्जा, कृषि, कानुन तथा न्यायलगायतका १२ मन्त्रालय पाउने निश्चित जस्तै भएको छ । आफ्नो पक्षलाई प्राप्त हुने चारवटा कोटामा पौडेलले महेश आचार्यका अलावा महिलाबाट कमला पन्त, जनजातिबाट धनराज गुरुङ र मधेसीबाट रामकृष्ण यादवलाई छनोट गरेको समाचार स्रोतले जनाएको छ । आफ्नो पार्टीको भागमा पर्ने १२ मध्ये एउटा मन्त्रालय प्रधानमन्त्री आफैले राख्नु अनिवार्य जस्तै छ । बाँकी ११ मा पाँचवटा मान्त्रालय पौडेल र सिटौलालाई दिने तयारी छ । तीनवटा मन्त्रालय प्याक भइसकेका छन् ।
सपथग्रहणकै दिन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीबाट तीन, माओवादी केन्द्रबाट तीन, फोरम लोकतान्त्रिकबाट एक गरी आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।