१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सप्तरीमा प्रधानमन्त्री देउवाको अर्को हाँस्यास्पद काण्ड !

नेपालब्रिटेन डट कम्
२३ असार २०७४, शुक्रबार १४:५३

सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्र्याई गर्छन भन्ने अर्को उदाहरण आज सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर उनले जे गरे त्यसले आलोचना र खिसिट्यूरीको जारी क्रमलाई झनै बढाउने निश्चित छ । प्रधानमन्त्रीबाट त्यतिसम्मको कमजोरी हुनु अशोभनीय मात्रै होइन, हाँस्यास्पद पनि हो ।
बाढिपिडीतको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दलबलसहित सप्तरी पुगे । स्थलगत अवलोकपछि प्रधानमन्त्री देउवाले तत्काल राहतको प्याकेज घोषणा गरे । लिखित मन्तव्य राखेका प्रधानमन्त्री देउवाको अभिव्यक्ति त्यतिबेला अप्रसाँगिक बन्दै गयो, जतिबेला उनले जलउत्पन्न प्रकोप डिभिजन कार्यालय लाहानमा व्यापक अनियमितता भएको छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ भने ।
बाढिपीडितको कुरा गरिरहेका प्रधानमन्त्री देउवाले जल उत्पन्न प्रकोप डिभिजन कार्यालयमा अनियमितता भएको छ, संसदीय छानबिन समिति गठन हुन्छ भन्ने कुरा बोलेपछि सबै अक्कन बक्क भए । प्रधानमन्त्री देउवा अनियमितताको प्रसँगमा अकमकिदै अगाडि बढेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले ‘यो त अर्कै प¥यो हजुर’ भन्दै सम्झाए ।
प्रधानमन्त्री देउवालाई पूर्व सिँचाइमन्त्री उमेश यादवले जल उत्पन्न प्रकोप डिभिजन कार्यालय लाहानमा अनियमिता भएको भन्दै छानबिनका लागि ज्ञापनपत्र बुझाएका रहेछन् । प्रधानमन्त्री देउवाले त त्यही ज्ञापनपत्र पो पढिदिए । आफ्नो लिखित मन्तव्य र ज्ञापनपत्र छुटाउन नसक्दा फेरि हास्यपात्र बनेका छन् ।