७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय तहमा एमाले पहिलो र कांग्रेस दोस्रो पार्टी

नेपालब्रिटेन डट कम्
२४ असार २०७४, शनिबार ०७:२५

काठमाडौं । प्रदेश २ मा स्थानीय तहको निर्वाचन हुन बाँकी रहेको अवस्थामा नेकपा एमाले पहिलो पार्टी बनेको छ । सत्तारुढ दल नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अब जम्मा चार तहको मात्र मत परिणाम आउन बाँकी रहेको छ । परिणाम आउन बाँकी रहेका मध्ये तीनमा नेकपा एमाले र एकमा नेपाली काँग्रेस अगाडी रहेका छन् ।
एमालेले सुनसरीको धरान उपमहानगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकामा अग्रता लिएको हो भने कांग्रेस मोरङको विराटनगर महानगरपालिकामा अगाडी रहेको छ ।
दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा गरिएको निर्वाचनमा अहिलेसम्म ३ सय ३० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । घोषित परिणाममा १ सय ४८ तह जितेर एमाले पहिलो र १ सय २१ तहमा तिेर कांग्रेस दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्र भने ३८ स्थानीय तहमा विजयी हुँदै तेस्रो ठूलो दल बनेको छ । पहिलो चरणको निर्वाचनमा एमालेले १२५, कांगे्रसले १०५ र माओवादीले ३६ स्थान जितेका थिए । पहिलो चरणमा २ सय ८३ स्थानीय तहमा निर्वाचन भएको थियो ।
दोस्रो चरणमा ८ तह जित्ने संघीय समाजवादी फोरम चौथो हुँदा ६ तह जितेर लोकतान्त्रिक फोरम पाँचौं बनेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीन जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।