१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रदेश १, ५ र ७ मा एमालेलाई बहुमत

नेपालब्रिटेन डट कम्
२४ असार २०७४, शनिबार १४:१९

काठमाडौं । दोस्रो चरणमा स्थानीय तह निर्वाचन भएका तीनओटा प्रदेशको मतमरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणमा निर्वाचन भएका तीनओटा प्रदेशमध्ये प्रदेश नम्बर–१ र ५ मा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ भने प्रदेश नम्बर–७ मा नेपाली कांग्रेस र नेकपा एमाले बराबर हैसियतमा देखिएका छन् । यद्यपि पुनर्वास नगरपालिका एमालेको पक्षमा गए उसैको बहुमत पुग्छ ।
एमालेले आफूहरुले आँकलन गरेजति सिट प्राप्त गर्न नसकेपनि कठिनाइका बाबजुद् पहिलो पार्टी बन्न सफल भएको समीक्षा गरेको छ । प्रदेश–१ मा एमाले र कांग्रेसबीच झन्डै २० सिटको अन्तरपर्ने देखिन्छ । माओवादी केन्द्र भने ९ सिटमा चित्त बुझाउन बाध्य भएको छ । राप्रपा ३ र अन्य दलले ५ सिट जितेका छन् ।
प्रदेश–५ मा एमालेले कांग्रेसकोभन्दा १० सिट बढी जितेको छ । प्रदेश नम्बर–५ मा नेकपा एमाले ४३, कांग्रेस ३३ र माओवादी केन्द्र १९ सिटमा जित हात पार्न सफल भएका छन् भने राप्रपाले एक र अन्य दलले १३ सिटमा चित्त बुझाउन बाध्य भएका छन् । प्रदेश–७ मा कांग्रेस र एमालेको बराबरी हैसियत स्थापित भएको छ । यो प्रदेशमा पनि माओवादी निकै कमजोर देखियो । माओवादी केन्द्रले प्रदेश नम्बर–७ मा १० स्थानमामात्र जित हात पार्न सफल भयो ।
माओवादीका प्रवक्ता पम्फा भुसालले निर्वाचन परिणाम सन्तोषजनक नभएपनि जनताले दिएको मतमा असन्तुष्ट हुने अवस्था नरहेको बताइन् । नेपाली कांग्रेसले भने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणामको औपचारिक समीक्षा गरेको छैन । अनौपचारिक कार्यक्रममा भने कांग्रेसका नेताहरु दोस्रो चरणको मतपरिणामप्रति सन्तुष्ट देखिएका छैनन् ।
यता, मधेस आन्दोलनको अगुवाइ गर्ने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले तराईकै जिल्लामा राम्रो परिणाम हासिल गर्न सकेनन् । तराईमा एमाले, कांग्रेसको जनमत खस्किएको भन्ने अनुमान यो चुनावले गलत सावित गरिदियो । संघीय समाजवादी फोरमले ८, नेपाल लोकतान्त्रिक फोरमले ६ र राजपा समर्थित स्वतन्त्र उम्मेदवार ३ गरी जम्मा १७ सिटमात्र कांग्रेस, एमाले र माओवादी केन्द्रभन्दा बाहिर गयो । जबकि, तराईका २० मध्ये १२ जिल्लामा चुनाव भइसकेको छ । यसले पनि तराईका जिल्लामा कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलको जनमत अझै नखस्किएको पुष्टि भएको छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति बनेका छन् । यसअघि भएको २०७० सालको संविधानसभा चुनावमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिकारुपमा थिए । संविधान जारी भएको नयाँ परिवेशपछि भएको स्थानीय तह निर्वाचनले दलहरुको हैसियतमा परिर्वतन ल्याएको छ । प्रादेशिकस्तरमा पनि दलहरूको उपस्थिति करिब समग्र परिणामकैजस्तो छ ।