१३ बैशाख २०८१, बिहीबार
Follow Us

२२ लाख नेपाली प्रवासमा ९० प्रतिशत मध्यपूर्वमा

नेपालब्रिटेन डट कम्
२५ असार २०७४, आईतवार ०८:३८

काठमाडौं । श्रममन्त्री फरमुल्ला मन्सुरले मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था हुन नसक्दा कामका लागि विभिन्न मुलुकमा २२ लाख नेपाली रहेको र त्यसमध्ये ९० प्रतिशत मध्यपूर्वी मुलुकमा मात्र रहेको जानकारी दिँदै आकर्षक रोजागारीका लागि नयाँ गन्तव्यका बारेमा मन्त्रालयका तर्फबाट पहल भइरहेको बताउनुभयो ।
उहाँले वैदेशिक रोजागारीबाट प्राप्त विप्रेषणले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २९.६ प्रतिशत योगदान पु-याए पनि प्राप्त रकम उत्पादनशील क्षेत्रमा उपयोग हुन नसकेको बताउनुभयो । मन्त्री मन्सुरले मन्त्रालयले विदेशमा जाने व्यक्तिलाई सीपमूलक तालिम दिने योजना अघि सारेको बताउँदै वैदेशिक रोजगारीका पीडितका उजुरीमाथि आवश्यक छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिएको जानकारी पनि दिनुभयो ।
बैठकमा शहरी विकासमन्त्री प्रभु साहले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै काठमाडौँ मात्र नभई देशका प्रमुख शहरलाई आधुनिक र सुविधासम्पन्न बनाउन गुरुयोजना बनाई कार्यान्वयन गर्न मन्त्रालयले पहल शुरु गरेको जानकारी दिनुभयो ।
आजको बैठकमा शहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम जारी छ । विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको शीर्षकमाथिको छलफल यही असार २० गतेदेखि सुरु भएको थियो ।