१५ चैत्र २०८०, बिहीबार
Follow Us

पशुपतिमा मन्दिर भत्काएर क्रियापुत्री भवन

नेपालब्रिटेन डट कम्
२५ असार २०७४, आईतवार १५:३८

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकालीस्थित अग्निहोत्री यज्ञशालामा रहेको चार शिवालयमध्ये एक शिवालय किरियापुत्री भवन बनाउनका लागि भत्काएपछि स्थानीयवासीले त्यसको विरोध गरेका छन् । सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको मन्दिर पुरातत्व विभागसँगको बिनासमन्वय र मुचुल्कासमेत नउठाइ भत्काएर सांस्कृतिक सम्पदामाथि आक्रमण गरिएको स्थानीयवासीको आरोप छ ।
बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले किरियापुत्री भवन बनाउन कोषलाई रु एक करोड ५० लाख उपलब्ध गराएको छ । किरियापुत्री भवन बनाउनका लागि कोषले शनिबार शिवालय भत्काइएको स्थानीय जलदराज वैद्यले बताउनुभयो ।
“शनिबारको बिदामा पुरातात्विक सम्पदा भत्काइएछ, यसकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पुरातत्व विभागमा उजुरी गर्छौं, मन्दिरमा रहेको मूर्ति र गर्भगृहमा रहेका अमूल्य निधि कहाँ गए ? त्यसको विवरण चाहिन्छ, मन्दिरमा एउटा भैरवको मूर्तिमात्र भएको विवरण कोषले देखाएको छ”– उहाँले भन्नुभयो ।
काठमाडौँ महानगरपालिका वडा नं ८ का अध्यक्ष दीनेश डङ्गोल मन्दिर डोजरले भत्काएपछि मात्र थाहा पाएको बताउनुहुन्छ । “मन्दिर रहेको पुरातात्विक स्थलमा किरियापुत्री भवन बनाउन नदिने निर्णय जनप्रतिनिधि र स्थानीयवासीबाट भएको छ, कोषसँग आजै भएको छलफलमा मन्दिरजस्ताको त्यस्तै बनाउने निर्णय भएको छ”– उहाँले भन्नुभयो ।
कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेती किरियापुत्रीको माग आएकाले जीर्ण भएको मन्दिर भत्काएको दाबी गर्नुहुन्छ । “मन्दिरको स्वरुप थियो, कुनै मूर्ति र बहुमूल्य पुरातात्विक सामग्री थिएन, मन्दिरको स्वरुपमा अग्निहोत्रीशालाको दाउरा राखिन्थ्यो”– उहाँले भन्नुभयो ।
मन्दिर भत्काएका विषयमा महानगरीय प्रहरीवृत्त गौशालामा कुनै जानकारी प्राप्त नभएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । कोषका पूर्वसदस्य सचिव डा गोविन्द टन्डन भत्काइएको संरचना शिवालय नभई अग्निहोत्रीशालाको दाउरा राख्ने घर भएको र पुरातत्व विभागको पूर्वस्वीकृति लिई त्यसलाई भत्काइएको बताउनुहुन्छ ।
यस सम्बन्धमा पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर र भत्काइएको संरचनाको स्थलगत अध्ययनमा जानुभएका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईसँग पटकपटक सम्पर्क गर्दा पनि उहाँहरुले स्पष्ट जवाफ दिनुभएन ।
तस्बिर र भिडियो अनुयाज गौतम