१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अष्ट्रेलिया एनआरएनएको अध्यक्षमा ५ मतले घोताने विजयी

नेपालब्रिटेन डट कम्
२५ असार २०७४, आईतवार २०:३९

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा मेलवर्नका टोनु घोताने विजयी भएका छन् । जुलाई ८ शनिबार साँझ करिब १० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र प्रताप शाहलाई घोतानेले पाँच मतले हराएका हुन् । घोतानले जम्मा २ हजार २ सय १८ मत प्राप्त गरे भने शाहले २ हजार २ सय १३ मत प्राप्त गरे ।

यस्तै महासचिवमा ब्रिसवेनका नारायण कोइराला विजयी भएका छन् । कोइरालाले निकटतम प्रतिद्धन्द्धी राजु मानन्धरलाई ७० मतले पछि पारेका हुन् । मतपरिणम अनुसार कोइरालाले १ हजार ९ सय ९९ मत प्राप्त गरे भने मानन्धरले १ हजार ९ सय २९ मत पाए ।

सचिवतर्फ भने सिड्नीका देव बहादुर गुरुङले विकास केसीलाई पराजित गरे । गुरुङले २ हजार ३ सय ३६ मत प्राप्त गरेका थिए भने केसीले १७ सय ९ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा सिड्नीका अच्युत शर्माले कुशल केसीलाई हराउँदै जित हासिल गरे ।

यस्तै युवा संयोजकमा धर्मराज अधिकारी २ हजार ७ सय ४८ मत ल्याएर बिजयी भए । प्रतिद्धन्दी कोमल राज पाठकले १ हजार ९ सय ३९ मत पाएका थिए । महिला फोकल प्वाइन्टमा प्रतिज्ञा अधिकारी निर्विरोध चुनिएकी छिन् ।

निर्वाचनबाट अन्तर्राष्ट्रिय समन्वय समितिका ६ वटा पदमा दिपक भट्टराई, उषाकिरण बरिया, गोकुल प्रसाद घिमिरे, जानकी पौडेल, केदार रिजाल र राजकुमार थपलिया निर्वाचित भएका छन् । एनआरएनए अष्ट्रेलियाका ८ वटा राज्य संयोजकहरुमा न्यु साउथ वेल्सबाट नन्द गुरुङ, नर्दन टेरेटोरी डार्विनबाट हरिराम रिजाल, क्विन्सल्याण्डबाट सन्तोष कुँवर निर्विरोध भएका थिए ।

यस्तै साउथ अष्ट्रेलियाबाट अशोक केसी, भिक्टोरियाबाट केशव कँडेल उपाध्यक्ष पदमा दोहोरिएका छन् । वेष्टर्न अष्ट्रेलियाबाट राज्य संयोजक एवं उपाध्यक्ष पदमा दिपक शर्मा विजयी बनेका छन् । तास्मानियामा भने संयोजकमा विश्वेश्वर खतिवडा निर्विरोध निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानपछि शनिबार राति करिब १० बजे सिड्नीमा निर्वाचन परिणाम घोषणा गर्दै प्रमुख निर्वाचन आयुक्त डा। कृष्ण हमालले निर्वाचनलाई शान्तिपूर्ण तवरमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । अष्ट्रेलियाका कुल ८ राज्यमा भएको निर्वाचनमा कुल ८ हजार २ सय ४४ मतदाता मध्ये ५ हजार ५ सय १३ जना अर्थात् कुल ६६।८७ प्रतिशत मत खसेको थियो ।