८ बैशाख २०८१, शनिबार
Follow Us

संविधान संशोधन विधेयक अगाडि बढाइन्छ : अध्यक्ष दाहाल

नेपालब्रिटेन डट कम्
२६ असार २०७४, सोमबार ०९:२९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइने बताउनुभएको छ ।
सिंहदरबारमा आज आयोजित माओवादी केन्द्रको संसदीय बोर्डको बैठकमा उहाँले भन्नुभयो– “राष्ट्रिय हितका लागि पनि सो विधेयक अगाडि बढ्नुपर्छ ।”
अध्यक्ष दाहालले “संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्देश्य हो, त्यसैले अघिल्लो सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक अब प्रक्रियामा अगाडि बढ्छ” भन्नुभयो ।
संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेर राजपा नेपाललगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको विकल्प छैन भन्दै उहाँले हामीले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनौँ भने असन्तुष्टिमा खेल्ने तत्वले फाइदा उठाउन सक्ने बताउनुभयो ।
अध्यक्ष दाहालले संविधानको कार्यान्वयन र निर्वाचनका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । बैठकमा संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरुको पदपूर्तिका विषयमा पनि छलफल भएको थियो ।
श्रम समितिका सभापतिको उम्मेदवारी र समितिका सदस्यहरुको पदपूर्तिका लागि बैठकले आफ्नो सुझाव दिएको र त्यसबारे अन्तिम निर्णय पार्टी हेडक्वार्टर बैठकले गर्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।