१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सगरमाथाको टुप्पोबाट गोर्खा सैनिकको माग

नेपालब्रिटेन डट कम्
२८ असार २०७४, बुधबार १५:०१

काठमाडौं । ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले सगरमाथा आरोही सुशील शेर्मा लिम्बूलाई आज रु एक लाख पुरस्कार प्रदान गरेको छ । पाँचथर, माङजावुङ–३ का २८ वर्षीय लिम्बूले गत जेठ ६ गते सगरमाथा आरोहण गर्नुभएको थियो । यसअघि उहाँले रसुवास्थित लाङटाङ हिमाल आरोहण गर्नुभएको थियो ।
यहाँ आज आयोजित कार्यक्रममा समितिका उपाध्यक्ष राधा गुरुङले लिम्बूलाई पुरस्कार प्रदान गर्दै पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सामाजिक रुपान्तरण गर्न आग्रह गर्नुभयो । समितिले अन्तर्राष्ट्रिय तहबाट विभिन्न स्रोत सङ्कलन गरी पुरस्कारका लागि रकम जुटाएको थियो ।
नेकपा (माले) का नेता तथा सांसद अइन्द्रसुन्दर नेम्वाङले लिम्बूले आरोहण गरेको सगरमाथामा अहिले हिलारी स्टेप हराएको भन्नेबारे यथार्थको खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । समितिका अध्यक्ष कृष्ण राईले आफ्नो संस्थाले विदेशमा रहेर पनि नेपालीलाई दैवीप्रकोप, दुःख पीडामा सहयोग उपलब्ध गराएको तथा भूकम्प पीडितलाई रु ३० लाख बराबरको सहयोग प्रदान गरेको जानकारी गराउनुभयो ।
आरोही लिम्बूले विश्वकाम अन्य अग्ला शिखरसमेत आरोहण गरी नेपालीको गौरब बढाउने तथा बुद्धले फैलाएको शान्ति शिक्षा फैलाउने आफ्नो योजनाबारे जानकारी दिनुभयो । समितिले बेलायती सैनिकसरह गोर्खा सैनिकलाई पनि समान सेवा र सुविधा उपलब्ध गराउन माग गर्दै आएको छ । आरोही लिम्बूले सो समितिको मागलाई समेत सगरमाथामा पु-याउनुभएको थियो ।