१५ चैत्र २०८०, बिहीबार
Follow Us

शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन आदेश

नेपालब्रिटेन डट कम्
२८ असार २०७४, बुधबार १५:१३

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको आजको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०:३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न÷गराउन आदेश दिएको हो ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बन्दीमा रहेका शर्माको स्वास्थ्य परीक्षण गराई आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेशमा भनिएको छ । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, आयोगलगायतलाई विपक्षी बनाई मङ्गलबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको जनाउँदै थुनामुक्त गर्न माग गरिएको थियो ।
निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोहीअनुसार शर्माले काम गरेको जनाउँदै थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ । राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले पुर्पक्षका लागि उहाँलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशानुसार शर्मालाई अहिले पनि थुनामा राखिएको छ । शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्याेट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायत आरोप छ ।