११ बैशाख २०८१, मंगलवार
Follow Us

इलाम साक्षर जिल्ला घोषित

नेपालब्रिटेन डट कम्
२९ असार २०७४, बिहीबार ०६:२२

इलाम । सरकारले तोकेको सूचक पूरा गरेसँगै इलामलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाको साक्षरता प्रतिशत ९७।६ प्रतिशत पुगेकाले साक्षर घोषणा गर्न योग्य मापदण्ड पूरा गरेपछि बुधबार साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लाको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा बढी भएपछि साक्षर घोषणा गरिन्छ । जिल्ला शिक्षा अधिकारी टङ्क गौतमका अनुसार राष्ट्रिय जनगणना २०६८ मा इलामको साक्षरता दर ७७।९ प्रतिशत थियो । साक्षरता प्रतिशत कम भएकाले जिल्लालाई साक्षरता घोषणा गर्न धेरै गृहकार्य गर्नु परेको थियो ।

मुलुकका ७५ वटा जिल्लामध्ये इलाम ३७ औँ साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा अधिकारी गौतमका अनुसार राष्ट्रिय जनगणना २०५८ अनुसार जिल्लाको साक्षरता ५४ प्रतिशत, २०६८ मा ७७।९ प्रतिशत रहेको थियो । जिल्ला शिक्षा कार्यालयले आव २०६८-६९ मा सञ्चालन गरिएको साक्षरता अभियानबाट जिल्लाको साक्षरता प्रतिशत ८३।७ प्रतिशत, आव २०६९-७० मा ९३।७ प्रतिशत, र आव २०७०-०७१ म ९४।७ प्रतिशत र आव २०७१-०७२ मा ९७।६ प्रतिशत रहेको थियो ।

कार्यालयका अनुसार ०६७-६८ मा देशभर ५१ लाख निरक्षर रहेकामा इलाममा ४० हजार ५२३ निरक्षर पाइएको थियो । जिल्लालाई साक्षर घोषित गर्नका लागि इलाममा आव २०६७÷६८ मा १३, २०६८-६९ मा ११, २०६९÷७० मा ११ र आव २०७०-७१ मा १४ वटा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका महानिर्देशक चुडामणि पौडेलले औपचारिक रूपमा साक्षर जिल्ला घोषणा हुने मापदण्ड पुगेकाले इलामलाई साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो । महानिर्देशक पौडेलले जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्कालाई साक्षरताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

जिल्ला साक्षर घोषणा कार्यक्रममा नेपाल शिक्षक महासङ्घका अध्यक्ष पूर्णप्रसाद गौतमले अन्य क्षेत्रको तुलनामा शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । राज्यको सबै क्षेत्रमा काम गर्ने क्षमतावान् व्यक्ति निर्माण गर्ने शिक्षा क्षेत्र भएकाले त्यसका लागि सरकारको ध्यान जान आवश्यक रहेको छ, उहाँले भन्नुभयो ।

कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका सभापति हिमालय कर्माचार्य, नेकपा ९एमाले० अध्यक्ष राम राना, नेकपा ९माओवादी केन्द्र०का इञ्चार्ज धिरेन शर्माले साक्षर जिल्ला घोषणा जिल्लाको शैक्षिक उन्नयनमा एउटा कोसेढुङ्गा साबित भएको बताउनुभयो ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले शिक्षा क्षेत्रको विकासका लागि आफूले घोषणापत्रमा लेखेका सबै कुरा पूरा गर्न तयार रहेको र त्यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षलाई सम्मानसमेत गरिएको थियो । माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले शिक्षाको क्षेत्रमा सुधार नभएकामा अन्य क्षेत्र समेत अगाडि बढ्न नसक्ने हुनाले शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

अनौपचारिक शिक्षा केन्द्रका महानिर्देशक पौडेलले इलाम सबै क्षेत्रमा अगाडि रहँदा रहँदै पनि साक्षरता घोषणाले अझै एक तह अगाडि आएको बताउनुभयो । उहाँले व्यावहारिक शिक्षाका लागि इलाममा अन्य कुराका साथसाथै जिल्लाको चिनारीका रूपमा रहेका ५ ‘अ’ का बारेमा पनि औपचारिक रूपमा अध्ययन हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा जिल्लाका विभिन्न सामुदायिक अध्ययन केन्द्र, विद्यालयका प्रधानाध्यापक लगायतलाई सम्मान गरिएको थियो ।