११ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस र माओवादीबाट यी बन्दैछन् मन्त्री

नेपालब्रिटेन डट कम्
२९ असार २०७४, बिहीबार ०९:१९

काठमाडौं । संविधान संशोधन सम्भव नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिमण्डल विस्तारमा लागेका छन् । आगामी आइतबार सपथ खुवाउने गरी कांगे्रसबाट ११, माओवादी केन्द्रबाट ८ जना र लोकतान्त्रिक फोरमबाट २ जना मन्त्री थपिदैछन् ।
कांग्रेसबाट प्रधानमन्त्री देउवाले ६ जना, वरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा ४ जना र कृष्ण सिटौला र खुमबहादुर खड्काको सिफारिसमा एक–एकजनालाई मन्त्री बनाइदैछ ।
प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट महालक्ष्मी उपाध्याय (डिना), मीन विश्वकर्मा, बहादुरसिंह लामा, भीष्म आङदाम्बे, बीरबहादुर बलायर र भरत शाहलाई मन्त्री बनाउन सक्ने सम्भावना छ । पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत पुनः दोहोरिन सक्ने चर्चा पनि त्यत्तिकै चलेको छ । किचन क्याविनेटमा आफ्ना विश्वासिलो सहयोगीको रुपमा महतलाई पुनः मन्त्री बनाउन लागिएको बताइन्छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबाट काम नचलेपछि विकल्पको रुपमा महतको नाम अगाडि सारिएको हो । यद्यपि प्रधानमन्त्री देउवाले पत्नी आरजु देउवालाई बिना विभागीय मन्त्री बनाए भने महतको नाम स्वतः काटिने बताइएको छ ।
यता, वरिष्ठ नेता पौडेलले भने पहिलो चरणमा दुईजनाको नाम मात्र सिफारिस गरेको बुझिएको छ । पहिलो चरणमा बलबहादुर केसी र रामकृष्ण यादवको नाम नेता पौडेलले सिफारिस गरेका हुन् । यी दुईलाई मन्त्री बनाए मात्र महेश आचार्य र कमला पन्तको नाम दोस्रो लिस्टमा पठाइने पौडेल नजिकको स्रोतले बतायो ।
प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई केसीको नाम हटाउन पटक पटक दबाब दिइरहेका छन् । पौडेलले पनि आफ्नो बाध्यता बुझिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । पहिलो चरणमै महेश आचार्यको नाम सिफारिस गरे अर्थमन्त्री कार्कीलाई भौतिक योजनामा सार्ने र आचार्यलाई अर्थमन्त्रीको जिम्मेवारी दिने आश्वसन प्रधानमन्त्री देउवाले पौडेललाई दिएका थिए । आचार्यको मन्त्री हुने नामप्रति महामन्त्री शंसाक र शेखर कोइराला सहमत छैनन् ।
कृष्ण सिटौलाको सिफारिसमा भीमसेन दास प्रधान र खुमबहादुर खड्काको सिफारिसमा मोहन बस्नेत वा शिला खड्कामध्ये एकजनालाई मन्त्री बनाउने तयारी भएको बुझिएको छ ।
यता, माओवादीले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, स्वास्थ्य मन्त्री गिरिराज पोखरेल, सामान्य प्रशासन मन्त्रीमा श्याम श्रेष्ठ, आपूर्ति मन्त्रीमा शिवकुमार मण्डल मन्त्री बन्ने कुरामा लगभग निश्चित जस्तै छ । कृषिमन्त्रीमा हितराज पाण्डे वा आशा खनालमध्ये एकजना र सुदुरपश्चिमबाट थारु, दलित वा ज्ञवालीमध्ये एकजनालाई मन्त्री बनाउने छ ।
– सुनयना राउतबाट