प्रभा बराल, मेयर राप्ती नगरपालिका

राप्ती नगरपालिकाकी मेयर प्रभा बराललाई अन्तर्वार्ताका लागि फोन गर्दा बेलुकीको खाना बसाउँदै थिइन् । बाँकी काम श्रीमान् हरि पौडेलले पूरा गर्छन् भनेर खाना बसाएपछि प्रभा अन्तर्वार्ताका लागि तयार भइन् । राप्ती मेयर पदका लागि प्रभा र श्रीमान् हरिको नाम सिफारिस भएको थियो । तर पार्टीले प्रभालाई टिकट दियो, उनले कांग्रेसका किरणभुषण ओलीलाई झन्डै दोब्बर मतअन्तरले पराजित गरेर मेयर जितिन् । यो जित कसरी सम्भव भयो ? नगर विकासका प्राथमिक योजना के छन् ? भन्ने विषयमा कुमार राउतले गरेको कुराकानी :

० जनताले तपाईंलाई जिताएका हुन् कि एमालेलाई ?
– एमालेलाई जिताएका हुन् । जनता र राष्ट्रका लागि काम गर्ने राजनीतिक शक्ति एमालेको म प्रतिनिधि पात्र हुँ ।

० मेयर जित्नुभो, अब के गर्नुहुन्छ ?
– राप्तीका जनतामा समर्पित छु, मैले गर्नुपर्ने काम पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा स्पष्ट उल्लेख छँदैछ । त्यसबाहेक जनताको सेवा गर्ने अवसर दिनुहोस् भनेर भोट मागेकी हुँ । उहाँहरूको सेवा गर्छु, सुख–दुःखमा साथ दिन्छु, विकास निर्माण र पूर्वाधार विकासमा योगदान दिनेछु ।

० पहिलो काम के गर्नुहुन्छ ?
– वडा नम्बर ४ जुन पहाडी र विकट छ, त्यहाँ चेपाङ बस्ती छ । चेपाङ बालबालिकामा शिक्षाको पहुँच पु¥याउनु मेरो पहिलो कर्तव्य हुनेछ ।

० विकास निर्माणको पहिलो काम ?
– विकास निर्माणका काम धेरै गर्नुछ, पिउने पानी, बाटो, विद्यालय, स्वास्थ्यचौकी, सिँचाइका समस्या छन् । दक्षिण क्षेत्र निकुञ्जसँग जोडिएको छ । निकुञ्ज हाम्रो सम्पत्ति हो, त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हुनेछ । त्यस वरपर बस्ने नागरिकसँग लालपुर्जा छैन, जंगली जनावरको त्रास छ । यी सबै कुराको व्यवस्थापन गर्नुपर्नेछ ।

० महिलाका लागि विशेष कार्यक्रम ल्याउने योजना छैनन् ?
– मैले अघि नै पनि भनें, पिछडिएका महिला र बालबालिकालाई स्वास्थ्य र शिक्षामा पहुँच पु¥याउनुको साथै उनीहरूको आर्थिक र चेतनास्तर वृद्धि गर्ने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।

० चुनाव सजिलै जित्नुभयो ?
– त्यति कठिन भएन, किनभने यो क्षेत्र एमालेले २०४३ सालदेखि आफ्नो सुरक्षित क्षेत्रको रूपमा विकसित गरेको छ । यहाँका जनताप्रति एमाले नतमस्तक छ । जागृतप्रसाद भेटवालदेखि सुरेन्द्र पाण्डेसम्मका नेताले राजनीति गर्नुभएको ठाउँ हो यो ।

० पार्टीले तपाईंलाई नै किन रोज्यो त ?
– नेतृत्व दिन सक्षम छ भन्ने देख्यो होला । म जनताको कामप्रति समर्पित छु, निःस्वार्थ रूपमा काम गर्छु । सक्ने काम गर्ने प्रयास गर्छु । जनताको काम सकिनँ भने नमस्कार गर्छु र माफी माग्छु ।

० कहिलेदेखिको एमाले तपाईं ?
– गर्भे कम्युनिस्ट हुँ, हामी कास्की बैदामका हौं, बुबाले पुष्पलालको समिपमा रहेर काम गर्नुभयो । शिक्षक हुनुहुन्थ्यो, यद्यपि कम्युनिस्ट पार्टीको संगठन विस्तारमा महत्वपूर्ण योगदान दिनुभयो । घरमै सेल्टर थियो, जीवराज आश्रित, वामदेव गौतम सेल्टरमा बस्नु हुन्थ्यो । दाइदिदीसँगै म पनि जनताको गीत गाउँथे । ०४२ सालमा प्रारम्भिक कमिटीको सचिव भएर विद्यार्थी राजनीतिमा होमिएकी हुँ । पिएन क्याम्पस पढें, विद्यार्थी नेता, महिला संघ, कास्कीको अध्यक्षसमेत भएँ । जनवादी विवाह भयो, त्यसपछि चितवन आएँ । प्रदेश ३ र नारायणी अञ्चल कमिटी र केन्द्रीय कमिटीको स्थायी समितिमा छु ।

० बुबालाई कसले कम्युनिस्ट बनाएछ ?
– शिक्षक हुनुहुन्थ्यो, सामाजिक विद्रोहमा उहाँको लगाव थियो । दलितलाई हेप्ने, जातीय छुवाछूत तथा समाजमा धनीले कमजोर वर्गलाई हेप्ने प्रवृत्तिको उहाँ विरोध गर्नुहुन्थ्यो । त्यस्तै बेलामा पुष्पलालको सामीप्यमा रहेर काम गर्न थालियो भन्नु हुन्थ्यो । उहाँ गण्डकी अञ्चलको वाममोर्चाको नेतृत्वले लिएर जनआन्दोलनमा होमिनु भएको थियो ।

० दाइदिदीहरू पनि राजनीतिमै हुनुहुन्छ ?
– उहाँहरू अहिले शुभचिन्तक मात्र हुनुहुन्छ । राजनीतिको मूलधारमा हुनुहुन्न, उहाँहरूको आफ्नो व्यापार व्यवसाय छ ।

० जनवादी विवाह कसरी गरिन्छ ?
– उहाँ अर्थात् हरिप्रसाद पौडेल हामी एउटै पार्टीमा थियौं । एउटै पार्टीमा हुनुको नाताले हाम्रो भेट विवाहअघि पटक पटक भएको थियो । कार्यक्रमकै सिलसिलामा शान्ता मानवीले हामी दुईको विवाहको प्रस्ताव गर्नुभयो । अखिल महिला संघका साथीहरूले पनि विवाह गर्नुपर्छ भन्न थाल्नुभयो । त्यसपछि समसा खाएर, मुठी कसेर, भाषण गर्दै हामीले विवाह ग¥यौं ।

० को कहाँ भनेर सोधीखोजी गर्नुपरेन ?
– सामान्य सोधखोज त भइहाल्यो नि । उहाँको मामाघर पोखरा बैदाममै थियो, यतिको केटोसँग विवाह गरियो भने भविष्य चल्छ, जिन्दगी बिताउन सहज हुन्छ, राजनीतिबाट हात धुनु पर्दैन भन्ने लागेरै विवाहको प्रस्ताव स्वीकार गरेकी हुँ ।

० जिन्दगी बिताउन सहज भयो त ?
– अहिलेसम्म भइरहेको छ, भोलि के हुन्छ भन्न सकिन्न । दुई सन्तान हुन्, ठूलोले यो वर्ष इञ्जिनियरको अध्ययन सक्छ, छोरी पनि इन्जिनियर नै पढ्दै छिन् । सब ठीकठाक चलेको छ, सन्तुष्ट छु ।

० दुवै सन्तान इन्जिनियर बनाउनु भएछ ?
– के पढ्छौ भनेर हामीले कहिले सोधेनौं, उनीहरूको इच्छाअनुसार हामीले पढ्ने वातावरण मात्र बनाएका हौं ।

० महिलालाई राजनीति गर्न सजिलो छैन होला ?
– पुरुषको तुलनामा सजिलो छैन, जनताको कुरा सुन्ने, योजना बनाउनेदेखि लिएर घरव्यवहार सञ्चालन र चुलोचौकोमा समेत दृष्टि पु¥याउनुपर्छ । त्यति गर्दा पनि समाजले के भन्ला भनेर लोकलाजको ख्याल राख्नुपर्छ । समाजमा पुरुषवादी चिन्तन हाबी छ, परिवारको साथ र सहयोग भयो भने धेरै सहज हुन्छ ।

० पुरुषवादी चिन्तन हटाउन सकिँदैन ?
– सचेतनाको वृद्धिसँगै पुरुषवादी मानसिकता विस्तारै हट्दैछ । समाज परिवर्तन एकैचोटि हुँदैन, क्रमिक रूपमा हुँदै जाने हो । एकैचोटि हटाउन खोजियो भने दुर्घटना हुन्छ । डिभोर्सको संख्या एक्कासि बढ्नु एउटा उदाहरण हो ।

० कुनै काम गर्न श्रीमान्ले सल्लाह दिनुहुन्छ कि दबाब ?
– आफूले कसरी ग्रहण गर्ने भन्ने कुरा महत्वपूर्ण हो । सल्लाह अथवा दबाब ठाने पनि राम्रो कामका लागि नै उहाँले भन्नुभएको भन्ने ठान्छु ।

० एमाले सपना बाँड्ने पार्टी हो भन्नेहरूलाई तपाईंको जवाफ ?
– सपना देख्नुपर्छ, कल्पनाशील हुनुपर्छ, तब मात्र मान्छेले नयाँ काम गर्न सक्छ । परम्परागत कुरालाई राजनीतिक नेतृत्वले डो¥याउने हो भने त्यसको केही अर्थ हुँदैन । हाम्रा अध्यक्ष केपी ओलीले जे भन्नुभएको थियो, त्यो अरुका लागि सपना भयो, तर त्यही कुरा आज पूरा हुँदैछ । रेल आउँदैछ, लोडसेडिङ सधैंका लागि अन्त्य गर्ने विकल्प खोजिँदैछ, पेट्रोल र ग्याँस उत्पादनको प्रयास भइरहेको छ ।

० कांग्रेस चाहिँ कस्तो पार्टी हो ?
– प्रजातन्त्रको नाम घोक्ने, नेतृत्व अप्रजातान्त्रिक बन्ने, परिवर्तन हुन नचाहने, परिवर्तनले डो¥याउनुपर्ने खालको पुरातनवादीहरूको राजनीतिक संगठन हो ।

० माओवादी केन्द्र नि ?
– जंगलमा बसेर आएका हुुनाले त्यही किसिमको व्यवहार गर्ने, जे कुरामा पनि जबर्जस्ती गर्नुपर्ने, जनतालाई खुसी पार्नु नपर्ने, डरधम्की प्रयोग गर्ने एकल नेतृत्वमा चलेको राजनीतिक दल हो ।

० नेकपा एमाले चाहिँ ?
– प्रगतिशील, परिवर्तनको पक्षधर राजनीतिक दल हो । त्यही भएर जनताले स्थानीय तहको निर्वाचनमा १ नम्बरको पार्टी बनाए ।