१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज राप्रपा फुटको संघारबाट यसरी बच्यो

नेपालब्रिटेन डट कम्
३० असार २०७४, शुक्रबार ०९:५८

काठमाडौं । एकता महाधिवेशन भएको वर्ष दिन नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको नजिकबाट बाल बाल बच्यो । पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा गठनका लागि आज शुक्रबार नै ४० प्रतिशत सांसद र केन्द्रीय समितिको नामावलीसहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी थियो । तर पार्टी अध्यक्ष कमल थापाले सुटुक्कै ४२ जना केन्द्रीय सदस्य नियुक्त गरेको नाम निर्वाचन आयोगमा दर्ता गराएको खुलेपछि पशुपतिशमशेरको नयाँ पार्टी खोल्ने योजना तत्काललाई टरेको छ ।
संसदमा ४० प्रतिशत पुगे पनि केन्द्रीय समितिमा तत्काललाई ४० प्रतिशत पुग्ने सम्भावना छैन । अध्यक्ष थापाले थप गरेको ४२ जना केन्द्रीय सदस्यले गर्दा पार्टी फुटाउन खोज्नेहरुको ४० प्रतिशत पुग्दैन ।
१ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ४९ जना मनोनित गर्न बाँकी थियो । बिहीबार विश्वबन्धु थापालाई केन्द्रीय समितिमा मनोनित गरिएको समाचार सार्वजनिक भए पनि ४२ जनाको नाम भने सार्वजनिक गरिएको थिएन । १ सय १४ केन्द्रीय सदस्यमा ४२ जना थप गरिएपछि १ सय ५६ सदस्य केन्द्रीय समिति बन्न पुग्यो । अहिलेको अवस्थामा पार्टी अध्यक्ष कमल थापाको पक्षमा बहुमत मात्र होइन, पार्टी फुटाउनका लागि पशुपतिशमशेरसँग ४० प्रतिशत पनि पुग्दैन ।
३७ जना सांसद रहेको राप्रपामा १९ जना सांसद नयाँ पार्टी खोल्ने तयारीमा छन् । जसको नेतृत्व दिपक बोहराले गरेका छन् । राप्रपा नेपालमा रहेका २५ सांसदमध्ये १० जनाले कमल थापाको साथ छोडेको बुझिएको छ । बबिना मोक्तान, शयेन्द्र वान्तवा र रामकुमार सुब्बालगायत १० जना सांसद दिपक बोहराको क्याम्पमा पुगेका छन् ।
एक उपप्रधानसहित पाँचवटा रोज्जा मन्त्रालय दिने प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष कमल थापालाई संविधान संशोधनका लागि ३७ सांसदको हस्ताक्षर ल्याउन आग्रह गरेका थिए । तर अध्यक्ष कमल थापाले ३७ सांसदको हस्ताक्षर बुझाउन सकेनन् । राप्रपाभित्र विग्रह उत्पन्न भएपछि सत्तारुढ दलको संविधान संशोधन गर्ने तयारी बीचैमा तुहिएको थियो ।
राप्रपाले साउन ४ गतेदेखि ६ गतेसम्मका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकमा स्थानीय निर्वाचनको समीक्षा मात्र होइन, नयाँ पार्टी खोल्नेहरुबीच वादविवाद पनि हुने बुझिएको छ ।
– सुनयना राउत