१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाली काँग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने

नेपालब्रिटेन डट कम्
३० असार २०७४, शुक्रबार १०:०३

काठमाडौं । नेपाली काँग्रेसले दिवंगत नेता रामहरि जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका एक संस्थापक नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आइतबार एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकले स्व जोशीले राष्ट्रियता, प्रजातन्त्र, समाजजाद एवं प्रजातान्त्रिक आन्दोलनमा अनवरतरुपमा पु-याउँदै आउनुभएको योगदानको उच्च सम्मान गर्दै उहाँलाई ‘उच्च नेताको’ रुपमा सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
बैठकपछि नेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिवंगत नेता जोशीले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा अथक योगदान पु-याएबापत पार्टीले उच्च सम्मान गर्दै तीनदिनसम्म आधा झण्डा झुकाउनुका साथै शोकसभाहरु सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले शान्तिवादी चरित्र, सादकी जीवन र वैचारिकरुपमा पनि पार्टीलाई अघि बढाउन खेलेको भूमिकालाई पार्टीले आगामी दिनमा आत्मसात् गरेर अघि बढ्नसक्नुपर्नेमा जोड दिनुभयो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।