१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भानुभक्तबारेको विवाद सल्टाइएको कृति

नेपालब्रिटेन डट कम्
३० असार २०७४, शुक्रबार १५:१८

काठमाडौं । साझा प्रकाशनले नरेन्द्रराज प्रसाईकृत ‘भानुभक्त आचार्यको जीवनवृत्त’ नामक कृतिबारे आज समालोचनात्मक गोष्ठीको आयोजना गरेको छ ।
आदिकवि आचार्यको २०४ औँ जयन्तीका अवसरमा साझा प्रकाशनले सो कृति दोस्रो संस्करण प्रकाशनमा ल्याएको हो । सो कृतिको प्रथम संस्करण २०७१ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सौजन्यमा नइ प्रकाशनले प्रकाशन गरेको थियो । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार तथा समालोचक मोदनाथ प्रश्रित, राजेन्द्र सुवेदी, महादेव अवस्थी, उषा ठाकुर, गार्गी शर्मा, इन्दिरा प्रसाई, लक्ष्मणप्रसाद गौतम, ऋषिराम शर्मा दीनानाथ शर्मा र प्रदीप नेपालले
भानु जीवनीमा मतमतान्तर र भानु जीवनीबारे देखिएका विवादलाई प्रसाईबाट समाधान गर्ने प्रयास भएको बताउनुभयो ।
आचार्यको जीवनीमाथि रहेका अनेक विवाद र शंकोपशंकाको निवारणार्थ प्रसाईंको सो कृति अगाडि आएको हो । सो कृतिले आचार्यमाथि रहेका जन्ममिति, घाँसी र आचार्यको प्रसंग, उनले जागिर खाएको विषय, ‘वधूशिक्षा’मा प्रयोग भएको ‘वेश्या’ र ‘वैश्य’ शब्दलगायत उनको जन्मकुण्डली र मौलिक तस्बिर आदि विषयको विवाद समाधानार्थ प्रयास गरेको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । समालोचक वासुदेव त्रिपाठीले सो कृति अद्यावधिक र मानक मान्नुभएको बताइएको छ ।