१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शर्माको सुनुवाइ आइतबार

नेपालब्रिटेन डट कम्
३० असार २०७४, शुक्रबार १५:२९

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माको रिहाइको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ आइतबार गर्ने भएको छ ।

शर्माको आज सुनुवाइ भए पनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखेर आइतबार सुनुवाइ हुने अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी गराउनुभयो ।
अदालतका न्यायाधीशद्वय चोलेन्द्र शमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरेको हो ।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई मंगलबार गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

शर्मालाई विशेष अदातलले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ । शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्याेट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।