१५ चैत्र २०८०, बिहीबार
Follow Us

मनकुमारीलाई जापानबाट पाँच लाख रुपैयाँ सहयोग

नेपालब्रिटेन डट कम्
३१ असार २०७४, शनिबार ०५:२८

बागलुङ । पहिराका कारण विस्थापित गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी चोखाललाई जापानमा रहेका नेपालीले रु पाँच लाख सहयोग जुटाएका छन् । चोखालको पुनःस्थापना र जीवनयापनमा सघाउन गलकोटबाट जापान पुगेका प्रवासीले सहयोग अभियान चलाएका थिए । एक सय १० जनाबाट उक्त रकम संकलन भएको गलकोट समाज जापानका उपाध्यक्ष भवानी पन्तले जानकारी दिनुभयो ।

त्रिसठ्ठी वर्षीया चोखालको अस्थायी कच्ची घर दुई साताअघि गएको पहिराले क्षतिग्रस्त बनाएको थियो । परिवारमा कोही नभएपछि एक्लै जीवनयापन गर्दै आउनुभएकी चोखाल अहिले छिमेकीका घरमा आश्रय लिएर बस्नुभएको छ । अन्नपात, लत्ताकपडा, भाडाकुँडासमेत पहिरामा पुरिएपछि उहाँको उद्धार र राहतका लागि जिल्ला र प्रवासमा समेत सहयोग अभियान चलेको हो ।

जापानमा संकलित रकमबाट चोखाललाई नयाँ घर बनाइदिने योजना बनाइएको अभियानकर्मी तेजबहादुर थापाले बताउनुभयो । चोखाललाई राहत रकम जुटाउन प्रवासीले ‘मनकुमारी चोखाललाई सहयोग गरौँ’ भन्दै फेसबुक अभियान चलाएका थिए ।

पति वियोगपछि एक्लो बन्नुभएकी चोखाल २०५६ सालमा सुकुम्बासी आयोगले दिएको जग्गामा रहेको अस्थायी घरमा बस्दै आउनुभएको थियो । पति, सन्तति र परिवारमा कोही पनि सदस्य नभएपछि चोखाल सहराराविही हुनुहुन्छ । उहाँलाई राहत उपलब्ध गराउने उद्देश्यले बागलुङ सदरमुकाममा चलेको अभियानमा पनि रु ४० हजार संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लबलगायत संघसंस्थाले नगद तथा राहत सामग्री उपलब्ध गराएको अभियानकर्मी मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि उनलाई रु दश हजार उपलब्ध गराएको छ ।