१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ललितपुर मनपाको रु तीनअर्ब २३ करोड बजेट प्रस्ताव

नेपालब्रिटेन डट कम्
३१ असार २०७४, शनिबार १४:५७

ललितपुर । ललितपुर महानगरपालिकाले आव २०७४÷७५ का लागि रु तीन अर्ब २२ करोड ९१ लाख १० हजार बजेट प्रस्ताव गरेको छ । आज यहाँ आयोजना भएको ‘आर्थिक वर्ष २०७४-७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम’ मा नगर प्रमुख चिरीबाबु महर्जनले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट उक्त रकमको आय अनुमान गरेको बताउनुभयो ।
चालूतर्फ रु ४३ करोड १२ लाख ८७ करोड (१३.३५ प्रतिशत) र पूँजीगततर्फ रु दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार (८६.६५ प्रतिशत) खर्चको अनुमान गरिएको छ । परिषद्ले आन्तरिक आय रु एक अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरेको छ । आन्तरिक स्रोतबाट रु एक अर्ब १६ करोड ४४ लाख र राजस्व बाँडफाँडबाट रु छ करोड आय हुने अनुमान गरिएको छ ।
गत आवमा स्थानीय कर, सेवा शुल्क, दस्तुर, बिक्री, विभिन्न स्रोतलगायत राजस्व बाँडफाँडबाट रु २७ करोड ९४ हजार ६२२ आम्दानी भएको थियो । आलू आवको असार २५ गतेसम्म रु ४७ करोड ५३ लाख ४४ हजार ६३१ राजस्व संकलन भएको छ । राजस्व संकलन अनुमानभन्दा ११९.८० प्रतिशत बढी हो ।
सार्वजनिक सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएर कार्यक्रम बनाइएको प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो – “दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक ऊर्जा प्रवद्र्धनलाई बजेटमा जोड दिइएको छ ।” बालबालिका, महिला, वातावरण, संस्कृतिको विकासलाई प्राथमिकता दिइएको उहाँ बताउनुहुन्छ ।
श्रम तथा रोजगार मन्त्री फरमुल्हा मन्सुरले जनताको विकासको चाहना धेरै भएको बताउनुभयो । उहाँले सबै दललाई समेटेर अघि बढ्नुपर्ने बताउँदै प्रदेश नं २ को निर्वाचन असोजमै गर्ने सरकारको तयारी रहेको जनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्र श्रेष्ठले लामो समयसम्म जनप्रतिनिधि नहुँदा स्थानीय निकाय कर्मचारी र दलीय प्रतिनिधिले चलाएको बताउनुभयो ।
ललितपुर उपमहानगरपालिकाका पूर्व प्रमुख बेखामान शाक्यले जनताको करको सदुपयोग गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
महानगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद दाहालले कतिपय कार्यक्रम उपमहानगरपालिका हुँदादेखि शुरु भएका र कतिपय नयाँ भएको बताउनुभयो ।

महालक्ष्मी नपाको रु ४० करोड २५ लाख
यसैगरी, महालक्ष्मी नगरपालिकाले आव २०७४÷७५ का लागि आन्तरिक र बाह्य गरेर कुल रु ४० करोड २५ लाख २८ हजारको बजेट प्रस्ताव गरेको छ ।
आज यहाँ आयोजना भएको प्रथम नगरसभाको बजेट, योजना, तथा नीति सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले चालू खर्च रु सात करोड ४४ लाख ५० हजार र पूँजिगततर्फ रु २२ करोड ४३ लाख ४४ हजार प्रस्ताव गरिएको बताउनुभयो ।
आन्तरिक आयतर्फ रु नौ करोड ४८ लाख ५० हजार रहेको छ । नगरपालिकाले सार्वजनिक निर्माणमा रु १० करोड ९५ लाख ८४ हजार विनियोजन गरेको छ जसमा वडास्तरीय कार्यक्रमका लागि रु सात करोड ५० लाख र नगरस्तरीय कार्यक्रमका लागि रु तीन करोड ४५ लाख ८४ हजार विनियोजन गरेको छ ।
नगर प्रमुख श्रेष्ठले आगामी पाँच वर्षमा नगरपालिका र वडा कार्यालयको भवन निर्माणमा जोड दिइने बताउनुभयो । उहाँले भन्नुभयो – “यससँगै सडकको निर्माण, रंगशाला, सभागृह, पर्यटन पूर्वाधारलगायतका विकासमा जोड दिइनेछ ।” कृषिको पकेट क्षेत्र बनाउने, प्रविधिको प्रयोग बढाउने, संस्कृति संरक्षणलगायतका क्षेत्रमा कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताले अहिले जनप्रतिनिधि मात्रै नभएर स्थानीय तहमा नै सरकार पाएको बताउनुभयो । उहाँले भन्नुभयो – “हिजो केन्द्रमा मात्रै सरकार थियो भने नयाँ व्यवस्थाअनुसार स्थानीय तहमा सरकारको प्रत्याभूति गर्न सकिनेछ ।” कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा नगरपालिकाले गुरुयोजना बनाएर लागू गर्नुपर्नेमा उहाँको जोड थियो ।
अध्यक्ष ओलीले पछाडि परेका समुदायलाई अघि बढाउने कार्यक्रम लागू गर्नुपर्ने बताउनुभयो । प्रमुख, उपप्रमुखलगायत नगरपालिका र वडाका पदाधिकारीले सबैसँगको सहकार्यमा विकासको योजना बनाउने र लागू गर्नुपर्ने आवश्यकता उहाँले औँलाउनुभयो । उहाँले भन्नुभयो – “समावेशिता र सहकार्यलाई संयुक्त राष्ट्रसङ्घले विकास लक्ष्यमा राखेको छ ।”
नगरपालिकाका उपप्रमुख सुशीला थापाले नगरलाई सुन्दर र समृद्ध बनाउँदै लैजान सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै सभासद्हरु सिद्धिलाल सिंह, चन्द्र महर्जनलगायतले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।