४ बैशाख २०८१, मंगलवार
Follow Us

कोरियामा कामदारको तलब १६ प्रतिशतले बढ्यो, ४५ हजार नेपाली लाभान्वित हुने

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७४, आईतवार ०३:४९

कोरियो । दक्षिण कोरियामा कामदारको तलब १६दशमलव ४५ले वृद्धि भएको छ । शनिवार अबेरसम्म बसेको ज्याला निर्धारण समितिको बैठकले तलब बढाएको हो । तबल वृद्धि गर्ने निर्णयले कोरियामा कार्यरत लाखौ कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार हर्षित भएका छन् ।

कोरिया सरकारले सन् २०१८ लागि इपिएस लगायत सम्पुर्ण कामदारको तलब उक्त प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैया पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५७३७७० अर्थात मासिक नेपाली झण्डै एक लाख ४२ हजार सात सय ४७ रुपैया हुने छ ।

हरेक वर्ष जस्तै तलब वृद्धि गर्ने समयसिमा भन्दा निकै ढिला गरि शनिवार राती मजदुर र कम्पनी व्यावश्थापन पक्षबीच तलब वृद्धि गर्ने सहमती भएको अधिकारीहरुले बताएका छन् ।

आगामी वर्षका लागि वृद्धि भएको तबल गत वर्ष वृद्धि गरिए भन्दा दोब्बरले वृद्धि भएको हो । गत वर्ष सात प्रतिशतले वृद्धि भएको थियो । जस अनुसार अहिले कामदारले प्रतिघण्टा ७४७० वोन पाउदै आएका छन् । सन् २०१८का लागि तलब तोक्न गत तीन महिनादेखि मजदुर, कम्पनी व्यावश्थापन र सरकारी प्रतिनिधीबीच बैठक बस्दै आएको थियो ।

तलब निर्धारण गर्ने विषयमा कम्पनी व्यावश्थापनले तलब वृद्धि गर्दा साना तथा मझौला कम्पनीहरु आर्थिक भारमा पर्ने र कम्पनी नै बन्द गर्नुपर्ने अवश्था आउन सक्ने भन्दै तलब बढाउने पक्षमा देखिएका थिएनन् भने मजदुर संगठनहरुले अहिले जीवनशैली र मँहगीको हिसाबले तबल प्रतिघण्टा १० हजार वोन बनाउनुपर्ने माग राखेका थिए ।

कम्पनी व्यावश्थापन पक्ष तबल वृद्धि गरेपनि १५५ वोनले बढाउने प्रस्ताव राखेको थियो तर शनिवार राती १६ दशमल ४ प्रतिशतले बढाउन राजी भयो । तथापी मजदुर संगठन भने दश हजार वोन हुनुपर्ने अडानमै रहेको छ । दश हजार वोनका लागि प्रवासी मजदुर संघ एमटियूले यहाँको ठुलो मजदुर संगठन केसिटियूसँग मिलेर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

शनिवार तलब वृद्धि गर्ने त्रिपक्षीय सहमती अनुसार सरकारले त्यसलाई अगष्ट पाँच तारिख कानूनी प्रारुप दिने छ भने बीस दिनको अवधिमा संसदमा छलफल हुने छ । राष्ट्रपति मून जे इनले आफ्नो पाँच वर्षे कार्यकाल अर्थात सन् २०२२ सम्म प्रतिघण्टा दश हजार वोन पुर्‍याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
विकास श्रेष्ठले लेखेको समाचार अन्नपूर्ण पोष्टबाट लिइएको हो ।