१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज मन्त्रिमण्डल विस्तार नहुने

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७४, आईतवार ०७:२३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार नगर्ने हुनु भएको छ । आन्तरिक विवाद मिल्न नसकेपछि आज आइतबार मन्त्रिमण्डल विस्तार गर्ने भनिए पनि बुधबारका लागि सारिएको बुझिएको छ ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पार्टीको तर्फबाट मन्त्रीको लिस्ट पठाए पनि केही मन्त्री हरेफेर गर्ने भनेर अध्यक्ष पुष्पकमल दाहालले रोकेका छन् । यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्री हुने लिस्टमा २ जनाको मात्र नाम पठाएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । पहिलो चरणमा पौडेलले बलबहादुर केसीको नाम सिफारिस गरेकाले प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका हुन् । उनको नाम फिर्ता लिन पौडेललाई प्रधानमन्त्रीले सहमत गराउने प्रयास भइरहेको बुझिएको छ ।
मन्त्रिमण्डलमा राप्रपालाई संलग्न नगराइने भएको छ । राप्रपाको सट्टा उपेन्द्र महतोले नेतृत्व गरेको संघीय समाजवादी पार्टीलाई सरकारमा ल्याउने कसरत भइरहेको बताइएको छ ।

प्रधानमन्त्रीको ध्यानाकर्षण
महिला सांसद समन्वय समितिले मन्त्रिपरिषदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री देउवालाई भेट्दै समितिले मन्त्रिपरिषद बैठकमै उपस्थित हुने गरी महिलाको ३३ प्रतिशत सुनिश्चित गर्न माग गरेको हो ।
प्रधानमन्त्री देउवाले अब मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री र राज्यमन्त्री गरी ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउने वचन दिएको भेटमा सहभागी सांसदहरुले बताए ।
महिला सांसदहरुले महिलाको सुरक्षामा चुनौती बढ्दै गएको भन्दै त्यसमा विशेष ध्यान दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।