६ बैशाख २०८१, बिहीबार
Follow Us

बहुमतीय आधारमा प्रम चयन गर्न राष्ट्रपति भण्डारीको आह्वान

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७३, सोमबार १०:५१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गर्नुभएको छ । सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको हो ।
नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले पत्र पठाउनुभएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले यही साउन १० गते प्रमुख दललाई सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आग्रह गर्नुभएको थियो । उहाँले दिनुभएको समयसीमा आइतबार सकिएपछि पुनः बहुमतका आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको हो ।
राष्ट्रपतिको पत्र प्राप्त भएपछि संसद् सचिवालयले प्रधानमन्त्री चयनको कार्यतालिका तयार गर्नेछ । सचिवालयले यही बुधबार नयाँ प्रधानमन्त्री चयन हुने गरी प्रक्रिया सुरु गर्न लागेको जनाएको छ । व्यवस्थापिका–संसद्को बैठक आज अपराह्न १५:०० बजे बोलाइएको छ । आजको बैठकमा पूर्व सांसद हरिराज खेवाको शोक प्रस्ताव पारित गरिने र त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र वाचन गर्ने कार्यसूची रहेको छ ।