१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शर्माविरुद्ध रु दश अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७४, आईतवार १२:०४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आज शर्मासहित कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड बिगो मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।
कर फर्छ्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियालले छुट दिएको रकम भ्रष्टाचार भएको दावी गरेको हो । अख्तियारका अनुसार बिगो र जरिवाना माग दाबी गरिएको कुल रकम ३३ अर्ब हाराहारी छ ।
भ्रष्टाचार निवारण ऐनको दफा ७ मा राजस्व चुहावटसम्बन्धी आरोप पुष्टि भए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ । अख्तियारले विस्तृत छानबिन थालेदेखि नै आयोगका अध्यक्ष महत र सदस्य ढकाल फरार छन् भने सदस्य सचिवसमेत रहेका चूडामणि शर्मा अख्तियारकै हिरासतमा छन् ।