१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७४, आईतवार १५:०६

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताउनुभएको छ ।
काठमाडौँको सतुङ्गलमा रहेको बागेश्वरी अस्पतालको दशौँ वार्षिकोत्सवको उद्घाटन गर्दै नेता निधिले दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भए पनि अब एक-दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताउनुभयो ।
नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्किएलगत्तै मन्त्रिमण्डल विस्तार हुने उल्लेख गर्नुभयो । पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने भन्दै एक वर्ष संसद्को म्याद थप्ने हल्ला निराधार भएको बताउनुभयो । निर्वाचन क्षेत्र निर्धारण आयोग चाँडो गठन गर्ने र सोही आयोगले दिएको प्रतिवेदनका आधारमा मङ्सिर मसान्तभित्र प्रदेश र सङ्घीय संसद्को निर्वाचन हुने उहाँको भनाइ थियो ।
नागार्जुन नगरपालिकाका प्रमुख घनश्याम गिरीले जनतालाई स्वास्थ्य सेवा दिएर बागेश्वरी अस्पतालले समाज सेवामा ठूलो योगदान पु-याएको बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो ।