१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजधानीका ज्यानमारा भ्वाङहरू

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार ०३:५९

काठमाडौं । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । कसैले ‘स्मार्ट सिटी’ र ‘स्याटेलाइट सिटी’ त कसैले ‘मोनोरेल’ सञ्चालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके । तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ-धूलो, हिलो र ढलबाट मुक्त हुन सकेका छैनन् ।

ढल व्यवस्थित गर्न नसक्दा पानी पर्नासाथ सडक नै पोखरीजस्तो बन्ने अनि यात्रु नालीमा डुब्ने मात्र होइन, ज्यानै जानेसम्मका घटना भइरहेका छन् । सडक निर्माणका क्रममा महिनौंदेखि त्यत्तिकै राखिएका ठूल्ठूला भ्वाङ नागरिकका लागि ‘एम्बुस’जस्ता बनेका छन् । विद्यालयबाट फर्किंदै गरेकी छात्रा सत्या सापकोटा सडककै भेलमा झुक्किएर नालीमा पसिन् । झन्डै सय मिटर परसम्म लेदोपानीसँगै बगेकी सत्याले हात हल्लाएपछि स्थानीयले उद्धार गरे । सत्या त बाँच्न सफल भइन् तर खेल्दा-खेल्दै ढलमा परेकी नेपालटारकी ११ वर्षीया विनीता फुयाँलले ज्यानै गुमाउनुपर्‍यो । शुक्रबारका यी दुई घटना राजधानीभित्रका प्रतिनिधि मात्र हुन् । यस्ता दर्जनौं घटना बर्सेनि भइरहेका छन् तर स्थानीय निकायदेखि केन्द्र सरकारसम्म मूकदर्शक बनिरहेका छन् ।

विगतमा कर्मचारीले मात्र थेगेको स्थानीय निकाय अहिले तह भएपछि जनप्रतिनिधि निर्वाचित भएर आइसकेका छन् । उनीहरूले जनतालाई विकासका थुप्रै आश्वासन बाँडिसकेका छन् । तर, सडकका खाल्डाखुल्डीसम्म नपुर्दा ज्यानै गुमाउनुपर्ने नगरवासीको पीडामा मह्लम लगाउन जनप्रतिनिधि पनि चुकेका छन् । सपना ठूल्ठूला देखाउने तर बजेट छुट्ट्याएका योजनासमेत समयमै पूरा नगर्ने प्रवृत्तिले नागरिक मारमा परिरहेका छन् ।
पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाका लागि सडकमा खन्ने तर तत्काल नपुर्ने वा कालोपत्रे नगरेका कारण घाम लागे धूलोले र पानी परे हिलोले हिँड्न सक्ने अवस्था छैन । यसको असर यति मात्र होइन, उक्त माटो पसेर ढल थुनिने, त्यसपछि सडकभरि पानी जम्ने अवस्था छ । तीनकुने, पुतलीसडक, जमल, बौद्ध, त्रिपुरेश्वर, कालिमाटीलगायत दर्जनौं ठाउँ केही वर्षयता पानी पर्नासाथ पोखरीजस्तै जलमग्न हुने गरेका छन् । मेलम्ची खानेपानीका लागि खनिएका ठाउँमा जम्ने पानीले पनि यात्रु र सवारी साधन थुप्रै पटक समस्यामा परेका छन् ।

त्यस्तै, तीनकुनेबाट माइतीघरसम्म फराकिलो सडक बने पनि बागमती र धोवीखोलाका कारण यात्रु र चालकले सास्ती पाइरहेकै छन् । बागमतीमा हाल बनाइरहेको पुलमा सावधानी अपनाउन नसक्दा एक लेनको सडकसमेत खाल्डो परेको छ । यसै साँघुरो, त्यसमाथि एक लेन सडकमा खाल्डो परेपछि अहिले सवारी जामले यात्रु आक्रान्त छन् । जामका अतिरिक्त रातको समयमा यात्रा गर्नेका लागि सावधान गराउने काम पनि भएको छैन । यसले चालक र यात्रु खाल्डोमा पर्ने खतरा बढेको छ ।

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै ढल आफ्नो जिम्मेवारीभित्र नपर्ने जनाएको छ । ‘सडक विभागले सडकको धूलो बढारेर छेउमा थुपार्छ तर उठाउँदैन, जुन पानी पर्दा ढलमै जम्छ । इन्जिनियरिङ हिसाबले सबै काम पूर्ण नगर्दा सडकमा पटक-पटक समस्या आइरहेको हो’, प्रवक्ता ज्ञानेन्द्र कार्कीले अन्नपूर्णसँग भन्नुभयो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ढलमा समस्या देखिएर यात्रु र स्थानीयवासीलाई सास्ती भएको भन्दै तत्काल ढल खोल्ने प्रबन्ध मिलाउन आइतबार निर्देशन दिएको प्रवक्ता कार्कीको भनाइ छ । ‘शुक्रबार दुई बालिकाका विषयमा जे घटना भए त्यस्ता विषयमा अभिभावक, टोल सुधार समिति, स्थानीय क्लब, विद्यालय र सरोकारवाला सबै जिम्मेवार हुनुपर्छ’, उहाँले भन्नुभयो ।

ढल व्यवस्थापनमा रहेको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रवक्ता लीलाप्रसाद ढकालले नदी किनारामा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृतको कार्यालयले पनि हेर्ने जानकारी दिँदै ढलको सञ्जालमा भइरहेको अवरोध र त्यसलाई खुलस्त पार्ने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो । ‘अध्ययनको प्रतिवेदन आएपछि सरकार र एडिबीसँग मागेको बजेट पनि आएपछि तुरुन्त ठेक्कामा जाँदैछौं यसपछि ढलमा देखिएका समस्या समाधान हुनेछन्’, उहाँले भन्नुभयो ।

खाल्डा देख्न नपरोस् : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई राजधानीभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।

‘सरकार जनताका लागि बनेको हो । जनताको समस्यालाई हामीले कुनै पनि हालतमा समाधान गर्नुपर्छ । काठमाडौंमा सडक कि पोखरी हो चिन्न नसक्ने भएका छन् । स्कुलका विद्यार्थी हिँड्दा-हिँड्दै ढलमा पसेका छन्’, प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भन्नुभयो, ‘खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ । तपाईंहरू के गरिरहनुभएको छ ? काठमाडौं उपत्यकाका खाल्डाहरू तत्काल पुर्नुहोस्, त्यसका लागि थप बजेट चाहिए म उपलब्ध गराउँछु ।’

उहाँले सरोकारवाला निकायका प्रमुखलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न पनि निर्देशन दिनुभएको थियो । ‘तपाईंहरूले आजै फिल्डमा गएर निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरू पुर्नुहोस्, फुटेका ढलहरू बनाउनुहोस् । ढलेका बिजुलीको पोल गाँड्नुहोस्’, उहाँले भन्नुभयो, ‘मैले अबको १५ दिनभित्र काठमाडौंमा खाल्डाखुल्डी देख्न नपरोस् । मलाई रिपोर्ट गर्नुहोस् । अबदेखि एकीकृत योजना बनाएर समन्वय र सहकार्यमा काम गर्नुहोस् ।’
– अन्नपूर्ण पोष्टबाट