१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज माओवादी केन्द्रको बैठक

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार ०४:०५

काठमाडौं । स्थानीय तहको निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले आज सोमबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिने उक्त बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसारको नतिजा प्राप्त गर्न नसक्नुका कारणलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रवक्ता पम्फा भुसालका अनुसार ७५ वटै जिल्ला समितिका इन्चार्ज वा अध्यक्षले आफ्नो जिल्लाको समग्र अवस्थाका बारेका पार्टी नेतृत्वलाई जानकारी गराउने र आगामी दिनमा कस्तो रणनीतिका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।
यस्तै, प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको रणनीतिका विषयमा समेत छलफल हुने उहाँको भनाइ छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारे पनि परिणाम सोअनुसार नआएको भन्दै त्यसको वस्तुनिष्ठ समीक्षा गर्ने जनाएको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने र जिल्ला इन्चार्जले जिल्लागत प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ । यस्तै, बैठकमा सरकार विस्तार, संविधान संशोधन, प्रदेश र संघीय संसद्को निर्वाचनको तयारीका बारेमा समेत छलफल हुनेछ ।