१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रणनीति बनाउँदै पौडेल

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार ०४:३४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकार विस्तारको तयारीमा जुटिरहेका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर गुटगत रणनीति बनाउन सक्रिय भएको छ। स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएपछि पौडेल पक्ष पछिल्ला दिनमा नियमित छलफलमा छ।

पौडेल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै स्थानीय चुनावमा पार्टी पराजयका विषमया केन्द्रीय समितिमा राखेर समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ। ‘राम्रालाई भन्दा हाम्रा’ लाई उम्मेदवार बनाउँदा पार्टीले अनपेक्षित परिणाम भोग्नुपरेको ठहर गर्दै पौडेल पक्षले बैठक बोलाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने तयारी गरेको छ ।

प्रदेश नम्बर दुईको निर्वाचन तयारीमा पार्टी नेतृत्वको ध्यान नपुगेको पौडेल समूहको बुभझाइ छ । निकट केन्द्रीय सदस्यसँगको छलफलपछि निकट सांसदसँगको छलफलमा जुटेको पौडेल पक्षले आइतबार प्रदेश नम्बर पाँचका सांसदसँग अनामनगरमा छलफल गरेको छ ।

त्यस्तै, सोमबार प्रदेश नम्बर छ र सात, मंगलबार प्रदेश नम्बर चारका निकट सांसदसँग पौडेल पक्षले छलफल गर्ने भएको छ। साउन ५ गते प्रदेश नम्बर दुईका सांसदसँग छलफल हुनेछ।

यसैबीच, नेता पौडेलले मन्त्रिपरिषद् विस्तार विषयमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग कुनै छलफल नभएको बताएका छन्। पार्टीका तर्फबाट कसलाई सरकारमा पठाउने भन्ने विषयमा छलफल नै नभएको स्पष्ट गर्दै पौडेलले भने, ‘सबैलाई न्याय हुनेगरी नाम टुंगो लगाउनुपर्छ।’

पार्टीले पाउने मन्त्रालयको टुंगो लाग्न अझै बाँकी रहेको जनाउँदै पौडेलले भने, ‘मन्त्रालयको टुंगो लागेपछि मात्रै सरकारमा पठाउने साथीहरूको नाम टुंगो लाग्ने नागरिक दैनिकमा समाचार छ ।’