१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एमालेबाट नेम्बाङ प्रमका उम्मेदवार

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७३, सोमबार १५:१०

काठमाडौं । नेकपा(एमाले) का नेता रवीन्द्र अधिकारीले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई अघि सार्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वाभाविक रुपमा उपनेतालाई अघि सारिने बताउनुभयो । सभापति अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दा पनि कार्यसूचीमा प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयनका लागि डेढ वर्षभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता प्रभु साहले मुलुकलाई सही दिशाबोध गर्न र आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न पनि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार सफल हुने बताउनुभयो । अबको सरकारले सङ्घीय गठबन्धन र एमाले दुवैलाई साथमा लिएर सहकार्य गर्दै अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता धनराज गुरूङले शान्ति प्रक्रिया, पुनःनिर्माण र आर्थिक समृद्धिका लागि सबै दल मिलेर अघि बढ्नाको विकल्प नभएको बताउँदै संविधान कार्यान्यवनका लागि एमालेले प्रतिपक्षमा रही रचनात्मक सहयोग गर्नुपर्ने बताउनुभयो ।
मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले आफ्ना माग सम्बोधन भए सत्तापक्षकै बेन्चमा बसेर सरकारलाई सहयोग बताउँदै निर्वाचनमा मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पक्षमा मतदान गर्ने स्पष्ट पार्नुभयो ।