६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रवासीलाई फर्काउने मेरो एजेन्डा

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार ०४:५०

कुन्ती पोखरेल, कोषाध्यक्ष, युवक संगठन राप्रपा
स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कुन्ती पोखरेललाई उपमेयर पदमा उठाउने तयारी गरेको थियो । एमालेसँग चुनावी तालमेल भएपछि उनले उम्मेदवारी दिन पाइनन् । राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा कार्यान्वयन र समाज परिवर्तनका लागि राजनीतिमा प्रवेश गरेको बताउने कुन्ती महिला सशक्तीकरणको अभियानमा पनि त्यत्तिकै सक्रिय छिन् । पछिल्लो समयमा राप्रपाभित्र देखिएको विवाद र राजनीतिमा उनको क्रियाशीलतालाई लिएर कुमार राउतले गरेको कुराकानी ः

० राप्रपामा बिग्रह सुरु भएछ नि ?
– यति छिट्टै पार्टीभित्र विवाद आउँछ भन्ने सोचेकी पनि थिइनँ । अध्यक्ष कमल थापालाई सिध्याउन पार्टीभित्रको एउटा शक्ति लागेको बुझियो । तर उनीहरू सफल हुँदैनन् भन्ने कुरामा म ढुक्क छु ।

० एउटा शक्ति भनेको ?
– स्पष्ट देखिएकै छ नि † वरिष्ठ नेता पशुपतिशमशेर राणाले जारी गर्नुभएको विज्ञप्ति तथा दिपक बोहोराहरूले अध्यक्ष थापालाई घेराबन्दी गरेर अप्ठ्यारो पार्ने काम गरेका छन् । यी सबै कुरा आउँदो बुधबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा छलफल होला ।

० अध्यक्षलाई हटाउन सक्लान् त ?
– विधि र विधान मानेर अघि बढ्ने हो भने महाधिवेशनबाहेक अर्को कुनै शक्तिले हटाउने कल्पना नगरे हुन्छ । अराजक हिसाबले पार्टीभित्र भाँडभैलो मच्चाउने हो भने उनीहरूलाई जनताले सजाय दिनेछन् ।

० विवाद किन सुरु भयो ?
– झट्ट हेर्दा संविधान संशोधन र सरकारमा जाने विषयमा विवादजस्तो देखिए पनि सर्वसाधारणमा राजतन्त्रको भ्रमले केही नेताहरूले पार्टीलाई विखण्डनतिर डो¥याउँदैछन् । इतिहासले पनि माफ नगर्ने गल्ती केही शीर्ष नेताहरूले गर्दै हुनुहुन्छ ।

० राजतन्त्रको भ्रम भनेको ?
– राजालाई दरबारबाट निकालिएको बेला हाम्रा अध्यक्षज्यूले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने एजेन्डा बोकेर सडकमा उत्रनुभयो । यतिबेला गणतन्त्रको पक्षमा भोट होल्ने वरिष्ठ नेता राणा राजावादी र अध्यक्ष कमल थापा गणतन्त्रको पक्षधर भनेर सर्वसाधारणमा भ्रम फैलाइएको छ ।

० राजाले कमल थापालाई विश्वास गर्दैनन् भन्छन् ?
– यो पनि एउटा भ्रम हो, जुन बेला राजा अप्ठ्यारोमा थिए, त्यो बेला अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेन्डा बोक्दा सडकमा टाउको फुटाएका होइनन् ? वास्तविक राप्रपा हामी हौं, राजा र हिन्दु राष्ट्र हाम्रो एजेन्डा हो । यो विषयमा कसैले विवाद गरिराख्नु पर्दैन, अहिले दुई चार पत्रकारले लेख्दैमा हाम्रो एजेन्डा खोसिँदैन ।

० राजाको जन्मोत्सवमा पनि गएनन् नि तपाईंको अध्यक्ष ?
– स्वास्थ्यको कारणले उहाँ शुभकामना दिन जान सक्नुभएन भन्ने कुरा सार्वजनिक भइसकेको छ । उहाँले ट्विटरमार्फत राजालाई शुभकामना दिनुभयो ।

० कमल थापासँग राजा रिसाएका रहेछन् भन्ने संकेत यो होइन ?
– होइन, स्वास्थ्यले साथ दिएन त कसको के लाग्छ ? राप्रपाको एजेन्डामा विचलन ल्याउन यहाँ भ्रम छरिएको छ । त्यो भ्रमलाई चिर्न हामी सफल भएनौं । राप्रपाले आफ्नो एजेन्डा संविधानभित्र रहेर जनताको मन जितेर लागू गर्छ ।

० राजतन्त्र फर्किन्छ भन्नुभएको ?
– हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र नेपाल र नेपालीको आवश्यकता । त्यसैले असम्भव छ जस्तो मलाई लाग्दैन ।

० राप्रपाले मात्र राजाको आवश्यकता देखेर हुन्छ ?
– जंगल पसेर, हिंसा र आतंक मच्चाएर हामीले राजतन्त्र फर्काउँछौं भनेका छैनौं । जनताको मन जितेर हाम्रा एजेन्डा कार्यान्वयन गर्न प्रत्यन्त गर्छांै । एक दिन हामी सफल हुन्छौं भन्ने विश्वास मलाई छ ।

० स्थानीय तहको निर्वाचनमा राप्रपालाई जनताले के भने ?
– दुईपटक भएको स्थानीय तहको निर्वाचनमा हामी असन्तुष्ट हुनुपर्ने कारण छैन । हामीले प्रगति गरिरहेका छौं, संविधानसभाको निर्वाचनमा हामी समानुपातिकबाट मात्र संसद्मा पुगेका थियौं । अहिले उपमहानगरसहित, केही गाउँ र नगरमा निर्वाचित पनि भएका छौं । यो हाम्रा लागि शुभसंकेत हो ।

० यतिमै सन्तुष्ट ?
– मैले सन्तुष्ट भनेकी छैन, असन्तुष्ट भइहाल्नुपर्ने कारण छैन । किनभने पार्टीभित्र भ्रम फैलाउने काम नभएको भए हामी अझ राम्रो नतिजा ल्याउन सक्थ्यौं । आन्तरिक विवादले पार्टीलाई नोक्सान भयो ।

० राजनीतिमा कहिलेदेखि आउनुभयो ?
– त्यति लामो अनुभव छैन, त्यस्तै पाँच वर्षजति भयो । अहिले युवक संगठनको कोषाध्यक्ष छु । विभिन्न सामाजिक गतिविधिमा संलग्न छु । तारामण्डल महिला सशक्तीकरण गैरसरकारी संस्थामार्फत समाज परिवर्तनको अभियानमा छु ।

० के गर्छ यो तारामण्डलले ?
– महिलालाई उद्यमशील बनाउने हाम्रो अभियान हो । तालिम दिएर महिलालाई उद्यमी बन्न पे्ररणा र प्रोत्साहन दिन्छौं । सिलाइ बुनाइ, साबुन बनाउनेलगायत तालिम दिएर हामी महिलालाई आत्मनिर्भरको बाटो देखाउँछौं ।

० कति महिलाले तालिम लिए ?
– एकपटकमा हामी ३० जनालाई तालिम दिन्छौं । यसअघि ५० जनाभन्दा बढीलाई हामीले तालिम दिएर उद्यमी बन्न पे्ररित गरेका छौं ।

० के पाइन्छ भनेर राजनीतिमा लाग्नुभएको हो ?
– पाइन्छ भनेर राजनीतिमा लागेको होइन, यो देशलाई केही योगदान पु¥याउन सक्छु भनेर राजनीतिमा लागेकी हुँ ।

० के योगदान दिनुहुन्छ ?
– मुलुकलाई अरुको दासबाट मुक्त बनाउँदै विदेशिएका नेपाली युवाहरूलाई फर्काएर देश विकासमा लगाउनुपर्छ । परनिर्भरता होइन, आत्मनिर्भर र स्वाभिमानी नेपाली भएर बाँच्न सिक्नुपर्छ ।

० राजनीतिमा लाग्न के कुराले पे्ररित ग¥यो ?
– ओरेन्टियल आन्दोलनबाट विस्तारै म राजनीतिमा आएकी हुँ, त्यसभन्दा अगाडि राजसंस्थामा आस्था राख्थे । राजा वीरेन्द्रको वंश विनाश हुँदा धेरै दिनसम्म स्तब्ध भएँ । पछि राप्रपाको एजेन्डा र नेताका रूपमा कमल थापा मन प¥यो ।

० राजसंस्थाप्रति किन आशक्ति ?
– राजसंस्था भनेको राष्ट्रको अभिभावक हो । अभिभावकको अभावमा अहिले देश लथालिंग र भताभुंग भएको छ । हाम्रा उद्योगधन्दा नेताले बेचेर खाइसके ।

० जनताका छोरा राष्ट्रप्रमुख बन्नु राम्रो होइन ?
– राजसंस्थाले जस्तो अभिभावकको भूमिका निर्वाह गर्न सकेको खोइ ?

० कहाँको रैथाने ?
– काठमाडौं बत्तीसपुतलीमा जन्मेकी हुँ, बालुवाटारमा घर छ । अहिले पाटन क्याम्पसबाट राजनीतिशास्त्रमा उच्च शिक्षा हासिल गर्दैछु । दुई सन्तान छन्, उनीहरू स्कुल अध्ययनमा छन् । श्रीमान् स्वास्थ्य क्षेत्रमा हुनुहुन्छ ।

० पे्रम विवाह हो ?
– होइन, मागी विवाह नै हो । मेरो मामासँग उहाँको भेट भइरहन्थ्यो, मामामार्फत नै हाम्रो विवाह सम्भव भएको हो ।

० राजनीति गर्ने वातावरण घरमा छ ?
– राजनीतिमा लाग्ने पे्ररणा मैले सासूआमाबाटै पाएकी हुँ ।