काठमाडौं । वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ । अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आज यहाँ भएको कार्यक्रममा धरहराको प्राविधिक प्रस्तावलाई सार्वजनिक गरियो । रु तीन अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको सो प्रस्ताव अनुसार अब धरहरा क्षेत्रमा अहिले रहेको गोश्वारा हुलाक र टक्सार कार्यालय समेत गाभिनेछ ।
उक्त प्रस्ताव तयार पार्नुहुने वास्तुकार विष्णु पन्थीले पुरानो धरहराकै स्वरुपमा नयाँ धरहरा निर्माण गरिने बताउनुभयो । भित्री भागमा केही व्यापारिक केन्द्र हुने भए पनि बाहिरी स्वरुप पुरानै धरहराको रहनेछ । पुरानो धरहराको अवशेषलाई नछोइकन त्यसैको अगाडिपट्टि नयाँ धरहरा बनाइने छ । नयाँ धरहरा क्षेत्रमा छिर्ने बित्तिकै बगैँचा देख्न सकिनेछ । बगैँचा वरिपरि बस्न मिल्ने र पानी परेका बेला ओत लाग्ने ठाउँ समेत राखिएको छ ।
नयाँ धरहरा क्षेत्रमा सुन्धारा समेत पर्ने भएकाले यसलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ । सुन्धाराको धाराबाट पानी बग्नेछ र अहिले रहेकै ठाउँ पानीले भरिनेछ भने सुन्धाराको तीनतिरको छेउछेउ भ-याङ राखी अवलोकनकर्तालाई फोटो खिच्ने ठाउँ छाडिनेछ । यसले त्यस क्षेत्रमा पर्यटकको आकर्षण अझ बढी रहने विश्वास गर्न सकिन्छ ।
धरहरा छिर्ने बाटो हुँदै अगाडि बढ्दा छेउमा ५० फिटको पानीको फोहरा पनि देख्न सकिन्छ, जसबाट २४ घन्टा पानी प्रवाह हुन्छ । द्वारबाट भित्र छिरेपछि ‘अन्डरग्राउन्ड’ मा इलेक्ट्रिक भ¥याङ् हुँदै तल झर्नुपर्ने हुन्छ । तल रहेको लिफ्टबाट सिधँै धरहराको टुप्पोमा पुग्न सकिन्छ ।
पहिलेकै स्वरुपमा तयार पारिएकाले अहिले निर्माण गर्न लागिएको धरहरामा पनि ११ तला रहेको छ । धरहराबाट ८० प्रतिशत ‘भ्यू’ देखिने ‘ग्लास’ समेत राखिनेछ । धरहरामा प्रकाशको राम्रो व्यवस्था गरिने भएकाले साँझ यहाँ झलमल्ल हुन्छ । धरहराको उत्तरपट्टि तीन तले अत्याधुनिक ‘अन्डरग्राउन्ड पार्किङ’ को निर्माण गरिने छ । एकसय ३४ वटा गाडी अट्ने उक्त पार्किङ् क्षेत्रमा छिर्ने र निस्कने बाटो समेत छुट्टै तयार पारिएको छ ।

धराहरा चढ्न ‘लिफ्ट’
वास्तुकार पन्थीका अनुसार नयाँ धरहरा अपाङ्गता भएकालाई समेत ध्यानमा राखेर निर्माण गरिएकाले कसैले पनि धरहरा चढ्न पाइँन भनेर गुनासो गर्नुपर्ने छैन । दुई वटा लिफ्टको व्यवस्था गरिएकाले १०-१० जनाले एकै पटक धरहरा चढ्न सक्नेछन् ।

धरहराभित्रै थियटर
पुरानो धरहराको इतिहास र अहिलेसम्मको अवस्थाबारे अवलोकनकर्तालाई जानकारी दिन नयाँ धरहराभित्रै ‘मिनी थियटर’ को व्यवस्था गरिने छ । उक्त मिनी थियटरमा भीमसेन थापा, महारानी त्रिपुरासुन्दरीले निर्माण गराएको धरहरा, धरहरा निर्माणको इतिहास, भत्किएपछिको अवस्थालगायतको १५ मिनेटको वृत्तचित्र समेत देखाइने छ । थियटरको २० जनासम्म अट्ने क्षमता छ ।

धरहरा क्षेत्रमा सङ्ग्रहालय
इतिहासलाई जीवन्त राख्ने र नयाँ पिँढीलाई यसबारे जानकारी दिने उद्देश्यले टक्सार कार्यालयमा रहेका पुराना मेसिन, मुद्रालाई सङ्ग्रहालय निर्माण गरी व्यवस्थित गरिनेछ । पचास वर्ग फिटको क्षेत्रमा निर्माण गरिने उक्त सङ्ग्रहालयमा नेपालमा मुद्रा बनाउन प्रयोग गरिएका विभिन्न मेसिन प्रदर्शनीमा राखिनेछ । धरहरामा छिर्ने बित्तिकै सङ्ग्रहालय नदेखिने भएकाले उक्त सङ्ग्रहालय हेर्न अवलोकनकर्ताले एकछिन भए पनि चारैतिर खोज्नैपर्नेे छ ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा आफ्नो दरबार लगनटोलमा पहिलो पटक धरहरा बनाउन लगाएका थिए । यो धरहरा बनाएको अर्को वर्ष अर्थात् विसं १८८२ मा महारानी त्रिपुरासुन्दरीले अहिले धरहरा रहेको स्थानमा धरहरा बनाउन लगाइन् । विसं १८९० को भूकम्पले भीमसेन थापाले बनाएको धरहरा चर्किएको भए पनि रानीले बनाउन लगाएको धरहरामा भने केही भएको थिएन ।
विसं १९१२-१३ तिर धरहरामा बज्र परेर चर्किएपछि अहिलेको धरहराको पुनःनिर्माण गरिएको थियो । विसं १९९० सालको भूकम्पमा भने भीमसेन थापाले बनाउन लगाएको धरहरा पूर्णरुपमा भत्कियो भने सुन्धारास्थित धरहरा दुईदेखि चार तला मात्र बाँकी रह्यो । त्यसअघि धरहरा ११ तल्ले थियो । विसं १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेरले ११ तलालाई ९ तला बनाएर पुनःनिर्माण गराए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले नयाँ धरहरा आठ रेक्टर स्केलसम्मको भूकम्पले समेत नहल्लाउने गरी बनाइने बताउनुभयो ।
‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने अभियानअन्तर्गत रु एक करोड ९५ लाख सङ्कलन भइसकेको जानकारी दिँदै मन्त्री पोखरेलले भन्नुभयो – “धरहरा निर्माणका लागि लाग्ने रु तीन अर्बमध्ये सर्वसाधारणबाट सङ्कलन भएर पनि नपुगे जति रकम नेपाल टेलिकमले बेहोर्ने छ ।” उहाँका अनुसार निर्माणपछि धरहरा क्षेत्र पशुपतिपछिको सबैभन्दा आकर्षक पर्यटकीय ठाउँ बन्नेछ ।
– अन्जली रम्तेल