November 28, 2020
11:14 PM | 4:59 AM

सडक बालबालिकाको विश्वकप फुटबलमा नेपाल सहभागी हुने

  17/07/2017 मा प्रकाशित

काठमाडौं । सन् २०१८ मा रुसको राजधानी मास्कोमा आयोजना हुने सडक बालबालिकाको विश्व कप फुटबलमा नेपालले पनि भाग लिने भएको छ । सडक बालबालिकाको विश्व कप मे १९ देखि २७ तारिखसम्म चल्नेछ ।
फिफा विश्व कप अघि आयोजना हुने यस विश्व कपमा सेल्टर आश्रय नेपालमार्फत नेपालले सहभागिता जनाउन लागेको हो । विश्वकपमा नेपाल सहित विभिन्न २२ देशका २४ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले बताईन । जसमा १२ छात्र र १२ छात्रा टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपालले छात्र टिममा भाग लिनेछ । ‘स्ट्रिट चाइल्ड युनाइटेड’ ले फिफाको सहयोगमा सडक तथा असहाय बालबालिकाको लागि विश्व कप आयोजना गर्न लागेको हो ।
विश्व कपमा सहभागिताको लागि सेल्टर आश्रय नेपालले आफ्नो संस्थामा रहेका बालबालिका र अन्य सडक तथा असहाय बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थासँग आवद्ध बालबालिकाबीच लिग फुटबल सञ्चालन गर्न लागेको छ ।
लिगमा खेलाडीले गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरी विश्व कपका लागि नेपालको टिम बनाईने आयोजकले जनाएको छ । हाल सेल्टर आश्रय नेपालमा रहेका खेलाडीले फुटबल खेलको तयारी समेत गरिरहेका छन् ।
नेपालको अनाथ, असहाय तथा सडक बालबालिकाले विश्व कपमा भाग लिने खवर पाएपछि नेपाली राट्रिय टोलीका पूर्व फुटबल खेलाडी बसन्त गौचनले पनि सेल्टर आश्रय नेपाललाई सहयोग गरेका छन् । सोमबार उनले फनरुट्स फुटबल एकेडेमी जापानको तर्फबाट संस्थालाई खेल सामग्री सहयोग गरेका हुन् । उक्त अवसरमा फनरुट्स फुटबल एकेडेमीका प्रमुख जुन हिरानो पनि उपस्थित थिए ।

प्रतिक्रिया