१३ बैशाख २०८१, बिहीबार
Follow Us

पैसा नहुने चुनावमा जान नसक्ने माओवादी निष्कर्ष

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार १६:०३

काठमाडौं । सरकारको नेतृत्वमा रहेर सम्पादन गरिएका जनपक्षीय कामको व्यापक प्रचारप्रसार हुन नसक्दा स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षानुसार विजय हासिल गर्न नसकेको नेकपा(माओवादी केन्द्र)का नेताले टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजदेखि सुरु भएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले विद्युत्भार कटौतीको अन्त्य, उच्च आर्थिक वृद्धि, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, राष्ट्रिय गौरवका आयोजनामा देखिएको गुणात्मक प्रगतिलगायत कामको प्रभावकारी प्रचार हुन नसकेको र जनस्तरमा पुग्न नसकेका कारण सकारात्मक परिणाम आउन नसकेको बताएका हुन् ।

‘गाउँ÷नगरमा सिंहदरबारको नारा’लगायत कार्यसूची माओवादीकै भए पनि स्थानीय तहमा प्रभावकारी चुनाव प्रचार हुन नसकेको, पार्टीको सङ्गठन सोचेअनुसार वस्तुवादी नभएको, आर्थिक अभाव र कतिपय स्थानमा निर्वाचन चिह्नका कारण पनि समस्या भएको उनीहरुको धारणा थियो । नेताहरुले स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता प्राप्त हुन नसक्नामा पार्टीको सङ्गठनात्मक व्यवस्थापन नै मुख्य समस्या रहेको औँल्याएका थिए । उनीहरुले स्थानीय तह निर्वाचनमा अनुभव र निर्वाचनको पूर्वतयारीको कमी, पार्टी एकताको भाव तलसम्म सम्प्रेषण गर्नमा ढिलाइ, नेता–कार्यकर्ताको जनस्तरमा कमजोर सम्बन्ध, आर्थिक चलखेलजस्ता कारण निर्वाचनमा अपेक्षित सफलता हासिल नभएको रिपोर्टिङ गरेका थिए ।

यस्तै भद्दा साङ्गठिक संरचनाले काम नगरेको, तालेमलसमेत प्रभावकारी हुन नसकेको, जनतालाई पार्टीको कार्यसूची बुझाउन नसकिएको र निर्वाचन परिचालनसमेत उल्लेख्य मात्रामा हुन नसकेको माओवादीका नेताको भनाइ थियो । बैठकमा नेताहरुले स्थानीय निर्वाचनमा अपेक्षित सफलता हासिल नभए पनि अधिकांश जिल्लामा २०७० सालको तुलनामा मतसङ्ख्या बढेको, ९० भन्दा बढी स्थानमा पार्टीले दोस्रो हैसियत प्राप्त गरेको र कतिपय स्थानमा अत्यन्तै झिनो मतान्तरले पराजित हुनुपरेको उल्लेख गरेका थिए ।

प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले कार्यसूची आफ्नै भए पनि नौ स्थानमा मात्रै जित निकाल्न सकिएको बताउँदै पार्टी सङ्गठनमा विशेष ध्यान दिनुपर्ने र जनतासँगको सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले निर्वाचन चिह्नका कारण पनि कतिपय स्थानमा समस्या आएको र उम्मेदवार नै नभएको नेकपा (माले) को निर्वाचन चिह्न ‘हँसिया तारा’मा मतदाता झुक्किएको र तालमेल सोचेजति प्रभावकारी हुन नसकेको बताउनुभयो ।

आगामी असोज २ गतेका लागि निर्वाचन तय गरिएको प्रदेश नं २ का इन्चार्ज मातृकाप्रसाद यादवले आन्तरिक रुपमा पार्टी एकताबद्ध भएर जान सके ५० भन्दा बढी स्थानमा जित निकाल्न सकिने धारणा राख्दै सशक्त रुपमा जनपरिचालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश नं ३ का इन्चार्ज हितमान शाक्यले काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती अन्त्यलाई नै योजनाबद्ध रुपमा लैजान नसक्नु, पार्टी सङ्गठन अस्तव्यस्त हुनु जस्ता कारणले अपेक्षित परिणाम नआएको स्वीकार्दै दोलखा, धादिङ, मकवानपुर र चितवनमा तालमेल प्रभावकारी हुन नसकेको र सहयात्रीले विश्वास नगरेको भन्दै आन्तरिक एकतालाई नै ध्यान दिएर संगठन बनाउनुपर्ने बताउनुभयो ।

‘पैसा नहुने चुनावमा जान नसक्ने भए’
प्रदेश नं ४ का इन्चार्ज देवप्रसाद गुरुङले कर्मचारी प्रशासनले माओवादी हराउन र नेकपा (एमाले) लाई जिताउन साधन स्रोतको दुरुपयोग गरेको, आर्थिक चलखेल व्यापक भएको र साङ्गठनिक परिचालन प्रभावकारी हुन नसकेको रिपोर्टिङ गर्नुभयो । उहाँले पैसा नहुनेले निर्वाचनमा भाग लिन नसक्ने अवस्था आएको भन्दै इमान्दार र गरिबले आँट गर्नै नसक्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।

प्रदेश नं ५ का इन्चार्ज वर्षमान पुनले संविधानसभाको दोस्रो निर्वाचनभन्दा मत बढे पनि उल्लेखनीय सफलता हासिल गर्न नसकेको, आर्थिक चलखेल सोचेभन्दा बढी भएको, मतदान अधिकृतलाई प्रभावमा पारेर केही स्थानमा अदृश्य धाँधलीसमेत भएको प्रतिवेदन पेस गर्नुभयो । उहाँले ५ नं प्रदेशमा कम्तीमा ३४ तहमा विजयी हुने आँकल गरिए पनि १९ तहमा मात्रै सफलता हात परेको बताउनुभयो ।

प्रदेश नं ६ का इन्चार्ज शक्तिबहादुर बस्नेतले ४० तहमा विजयी हुने अपेक्षा गरिए पनि २५ प्रमुख र २९ उपप्रमुखमा विजयी भएको तथ्याङ्क पेस गर्दै पार्टी पुनःनिर्माणमा जुट्नुपर्ने धारणा राख्नुभयो । प्रदेश नं ७ का इन्चार्ज लेखराज भट्टले चुनाव खर्चिलो भएको र कार्यकर्ता परिचालनमा समेत जटिलता पैदा भएको टिप्पणी गर्नुभयो ।
बैठकको सुरुआत गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सङ्गठनमा अराजकता पैदा भएको र गुटबन्दी मौलाएको छ भन्दै त्यसलाई सुधार गरेर जान सबै तहका नेता तथा कार्यकर्ता तयार हुनुपर्ने बताउनुभयो । विचार र कार्यसूचीमा अहिले पनि राजनीति माओवादीकै वरिपरि रहेको तर सङ्गठनात्मक तयारी र व्यवस्थापन नहुँदा परिणाममा अपेक्षित सफलता हासिल गर्न नसकिएको धारणा राख्दै अध्यक्ष दाहालले जनस्तरसम्म जरा गाडेको पार्टी निर्माण अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो । बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
– रमेश लम्साल