नेपाली कामदारको समस्या समाधान गर्न मन्त्री मंसुरको आग्रह

  ३ श्रावण २०७४, मंगलवार १५:१० मा प्रकाशित

काठमाडौं । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरसँग नेपालका लागि साउदी अरबका राजदूत अब्देल नासेर हुसेन अल हार्थीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सो भेटमा मन्त्री मंसुरले साउदीमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका बहिर्गमन प्रवेशाज्ञा, नवीकरण, तलब भक्ताको भुक्तानी, शव पठाउने कार्यमा ढिलाइलगायत समस्याबारे राजदूत हार्थीको ध्यानाकर्षण गराउनुभयो ।
जवाफमा राजदूत हार्थीले समस्याको समाधान गर्न दूतावासले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटमा मन्त्री मंसुरले खाडी राष्ट्रमा उत्पन्न कूटनीतिक गतिरोधको समाधान शान्तिपूर्ण एवम् कूटनीतिक माध्यमबाट यथाशीघ्र हुनुपर्ने पक्षमा नेपाल रहेको जानकारी दिनुभयो । राजदूतले विकसित पछिल्लो समस्या कुटनीतिक माध्यमबाट समाधनाका लागि पहल भइरहेको जानकारी गराउनुभयो ।
मन्त्री मंसुरले नेपाली कामदारको हकहितको सुरक्षाका लागि साउदी सरकारसँग श्रम सम्झौता र घरेलु कामदारसँग सम्बन्धित छुट्टाछुट्टै सम्झौताको मस्यौदा मन्त्रालयले तयार गरी परराष्ट्र मन्त्रालयमार्फत साउदी अरेबीयामा पठाउने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभयो ।
भेटका क्रममा राजदूत हार्थीले नेपालबाट साउदी अरबमा हजका लागि जाने तीर्थयात्रीको सुरक्षा र व्यवस्थापनका बारेमा निश्चिन्त रहन मन्त्री मंसुरलाई आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
उहाँले साउदी सरकारले नेपाल सरकारलाई विद्युत्, सिंचाइलगायत क्षेत्रमा सहयोग प्रदान गरिरहेको तथा त्यो सहयोगलाई भविष्यमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री मंसुरले सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस प्रकारका सहयोगलाई अझ विस्तार गर्न र निरन्तरता दिन राजदूतसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया