१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठकपछि मन्त्रिपरिषद् विस्तार

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७४, बिहीबार ०९:२१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । पार्टीभित्र मन्त्री छनोटमा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति देउवाले शनिबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । समाचारस्रोतका अनुसार शनिबारको केन्द्रीय समिति बैठकले मन्त्री छनोट गर्ने जिम्मा पार्टी सभापति, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शंशाक कोइरालालाई दिइने बताइएको छ । उक्त टोलीले आइतबार मन्त्री बन्ने नाममा सहमति भए सोमबार मन्त्रिमण्डल विस्तार हुनेछ ।
पार्टीभित्रको आन्तरिक कलह र संविधान संशोधनको विषयलाई लिएर मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताइएको छ । हिजो सत्तारुढ दलले राष्ट्रिय जनता पार्टीसँग छलफल ग¥यो । उक्त छलफल निष्कर्षविहीन भएको थियो । कांग्रेस र माओवादी केन्द्रले ३० मन्त्रालयमध्ये २२ मन्त्रालय आफूसँग राख्ने र बाँकी अरु दललाई दिने सहमति गरेका छन् । कांग्रेसले प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय लिइसकेको छ ।
अब उसको भागमा रक्षा, भौतिक पूर्वाधार तथा यातायात, सिँचाइ, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, खानेपानी, सामान्य प्रशासन, सूचना तथा सन्चार, वाणिज्य र महिला बालबालिका तथा समाजकल्याण मन्त्रायल परेका छन् ।
माओवादी केन्द्रले गृह मन्त्रालय, परराष्ट्र र सहरी विकास मन्त्रालय लिइसकेको छ भने अब उसको भागमा स्वास्थ्य, ऊर्जा, कानुन, पशुपन्छी, कृषि विकास र आपूर्ति मन्त्रालय परेको छ । नेपाल लोकतान्त्रिक फोरमले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिइसकेको छ भने अब पर्यटन तथा नागरिक उड्ययन र भूमिसुधार मन्त्रालय पाउनेछ । राप्रपाको भागमा शान्ति तथा पुनःनिर्माण, उद्योग, वन र विज्ञान तथा प्रविधि मन्त्रालय छुट्याइएको छ । त्यसैगरी, नेकपा संयुक्तको भागमा जनसंख्या तथा वातावरण मन्त्रालय दिने सहमति छ ।
अब कांग्रेसले १० ओटा मन्त्रालय पाउनेछ । जसका लागि वीरबहादुर बलायर, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भरत शाह, भीष्मराज आङ्दम्बे लागिपरेका छन् । त्यस्तै, डा. नारायण खड्का, सरिता प्रसाइँ, बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान र मोहन बस्नेतलगायतको पनि चर्चा छ ।
माओवादी केन्द्रभित्र पनि मन्त्री बन्न उत्तिकै दौडधुप छ । माओवादीका तर्फबाट बाँकी ६ मन्त्रीका लागि गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, श्यामकुमार श्रेष्ठ, शिवकमार मण्डल, महेन्द्र शाहीलगायतका नेता लागिपरेका छन् ।