७ बैशाख २०८१, शुक्रबार
Follow Us

यूकेमा लिम्बूहरुले ‘सिसेक्पा तङनाम’ मनाए

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७४, शनिबार ०८:२४

लण्डन । किरात याक्थुङ चुङम्लुङ यूकेले वार्षिक रुपमा आयोजना गर्दै आएको सिसेक्पा तङनाम गत शनिवार १५ जुन तारिक लण्डनको फेल्थहामस्थित फेल्थहाम कम्यूनिटी कलेज खेलमैदानमा भब्यताको साथ सम्पन्न भयो । कार्यक्रम उद्घाटन संस्थाका अध्यक्ष काजीमान यक्सो र उपस्थितमध्ये सबैभन्दा जेष्ठ तुम्याहाङ बजहाङ चङवाङयक (८७) ले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा बेलायतका अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिसमेत अथितिकोरुपमा उपस्थिति रहेको थियो । कार्यक्रमका एकमात्र औपचारिक वक्ता तथा चुङम्लुङ हिम खरिद परियोजना प्रमुख मेजर चित्रराज हुक्पा चङवाङले चुङम्लुङ हिमको औचित्यमाथि प्रकाश पार्दै यो परियोजना सफल बनाउन आव्हन गरे ।
तानमा बुनेका ढाका र खाँडीका तागावा, मेख्ली र कण्ठा, नेसे, सिरबन्दी, यारलिङजस्ता जातीय गहना पहिरेर भेलामा आएका हजारौं उपस्थितिले लिम्बुवानमय वातवरण बनाएको थियो । पश्चिमा रहन सहनमा हुर्केका बेलायतबासी युवायुवतीहरुसमेत मौलिक भेषभूषातिर आकर्षण हुनु सकारात्मक पक्ष रहेको उपस्थित तुम्याहाङहरुको टिप्पणी गरेका थिए ।
सम्मान र पुरस्कार
कार्यक्रममा बेलायतमा वसेर लामो समयदेखि याक्थुङ कला, संस्कृतिमा निरन्तर सेवा दिइ रहेका सुवर्ण नेम्वाङ यो वर्षको ‘आर्टिस्ट अफ द इयर’, संस्थाले बार्षिकरुपमा आयोजना गर्दै आएको यलम्वरहाङ कप संचालनमा महत्वपूर्ण योगदान दिने सन्तोष वनेम ‘यलम्वरहाङ अवार्ड’ र चुम्लुङको बिभिन्न कार्यक्रमहरुमा उत्कृष्ट काम गरेका थोरक शाखा अध्यक्ष शान्तकुमार हुक्पा चङवाङ वर्षको ‘चुम्लुङ अवार्ड’ बाट सम्मानित भएका थिए । बिभिन्न बिषयहरुमा उच्च शिक्षा प्राप्त गरेका भारती निङ्लेकु, सुयन लिम्बू, सागर इस्बो, शिंघल इस्बो, सरोज चेमजङ, बेनुका लिम्बू, बिवेक पतङ्वा, विपिन पतङवा, नुशा लिवाङ, लिला सेलिङ मावो तथा हालका चर्चाको शिखरमा रहेको ‘मिलीजुली’ उपन्यासकी लेखिका शान्ति खिम्दिङ र लण्डन माराथुन सफलतापूर्वक पूरा गरेकी कल्पना तिगेलाई विशेष कदरपत्रसहित सम्मान गरियो ।
सदाझैं यो वर्षपनि यालाङ, केलाङ प्रतियोगिता विशेष आकर्षण रहेको थियो । संस्कृति विभाग प्रमुख पूर्ण सावादेन र सेवारो कलाकार संघ यूकेका उपाध्यक्ष वलराज चवेगुले संयुक्तरुपमा सांस्मृतिक कार्यक्रम संचालन गरेका थिए । यालाङतर्फ केवाइसि ग्रेटर लण्डन भक्ति आंदेम्बेको टिम प्रथम भएको थियो । उक्त टिममा भक्ति आंदेम्बे, रिता फोम्वो, झरना चवेगू, रितुमान आङबुङ, रिता इवाहाङ, राजेन्द्र नाल्वो, बिष्णुमाया तावा, विर्ख सांवा, तेज मेयाङ्वो, रेशु फियाक, टंक तंघुुङ सहभागी थिए । केलाङतर्फ शिखर सङवाङफे, पृथ्वि थाङदेन, आश्विन राई, अनमोल मादेन, हेम नाल्वो, जेसन नेम्वाङ, अमित थेवे, निसुमा मुसुहाङ, निरुता मुसुहाङ, सिकुम हुक्पा चङवाङ, गोकुल लिवाङ, सुमिक हुक्पा चङवाङ, नुमा थाङदेन, खुशा लिम्बू केवाईसी आशफोर्ड टिम प्रथम भएको थियो । दुबै प्रतियोगिताको निर्णायकहरुमा उत्तरकुमार फागो चङवाङ, अमृतबहादुर तुम्वाङम्फे र शेरबहादुर इस्बोले गरेका थिए ।
मेलाको रौनक
गायनमा पहिलो ‘नेपाल स्टार’ विजेता तथा सफल गयिका तथा मोडल विष्णु चेम्जङले विभिन्न याक्थुङ र नेपाली गीत गाएर स्टेज ततायकी थिइन । सुवर्ण नेम्वाङ, सुरेन लिम्बू, ताम्ली लिम्बूलगायत स्थनिय कलाकारहरुले विभिन्न गीत गाएर थप मनोरन्जन दिलाएका थिए ।
सिसेक्पा तङनाम संयोजन जिम्मेवारी संस्थाका वरिष्ठ उपाध्यक्ष दीलसिं मेयाङवो र उपाध्यक्ष नर थाम्सुहाङले पाएका थिए र केवाईसि महिला विभागले विशेष सहयोग गरेको थियो । संस्थाका महासचि खगेन्द्र लौती र सचिव महेश अनेमले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य केवाईसि वरिष्ठ उपाध्यक्ष मेयाङवोले गरेका थिए ।
सिसेक्पा तङ्नाम बेलायतभरी छरेर बसेका लिम्बूहरुलाई यही दिन एकै थलोमा भेला पार्ने एक महत्वपूर्ण पर्वकोरुपमा विकास भइ सकेकोछ । लिम्बू भेषभूषामा सजिएका साढे ३ हजार भन्दा धेरै युमाथेवा, थाङवेन मेन्छ्याङहरु भेला भई स्वतस्फूर्त यालाङ, केलाङमा रमाएको दृश्यले लिम्बुवानको कुनै ठाउँमा ठूलो मेलाको सम्झना दिलाएको थियो । आफ्ना भाषा, लिपी, कला, धर्म, संस्कृतिहरुलाई जीवन्त राख्न र लिम्बुवानी विरासतको संरक्षण गर्न सिसेक्पा तङ्नाम कोसे ढुङ्गा सावित भएको छ ।
सिसेक्पा तङनामको सांस्कृतिक महत्व
याक्थुङ मुन्धुम अनुसार ‘साक्च्योङ’ अर्थात अनिकालका राजा घरमा पसेर पूरै गाउँ अनिकालले सताएर हैरान पारेपछि त्यसको विरुद्ध हाम्रा पुर्खाहरुले अनिकाल खेद्न अप्नाएको यो जुक्ति नै अन्ततः ‘सिसेक्पा तङ्नाम’ अर्थात साउने संग्रान्ती चाडको रुपमा विकसित भएको पाईछ । कसैले असारे हिलोमैलोमा छालामा लाग्ने लुतो रोग फ्याक्ने चाडकारुपमा पनि लिन्छन् ।
कृषकका लागि चैत, वैशाख, जेठ र असार चार महिना अत्यन्तै कठिन दिनहरु हुन । यसैबेला भकारीका अन्नहरु रित्ति सकेका हुन्छन् । वर्ष भरिका लागि खाने अन्न कमाउने यसै समयमा पर्छ । हावाहुण्डरी, बाढीपहिरो प्राकृतिक प्रकोप र अनेकौं हिंस्रक जंगली जनवारको सामनापनि यिनै बेलामा गर्नुपर्दछ । असारको अन्तसंगै अन्नबाली पाक्न थाल्छन् । प्राकृतिक प्रकोप र रोगव्याध घट्न थाल्छन् । दुःखका अनेकौं खुड्किलाहरु उक्लेर यो वर्ष बाचियो भनेर खुशियाली मनाउने परम्परा नै ससेक्पा तङ्नाम भन्दा अलिक सार्धभिक हुन्छ ।
सुनाई र बुझाई जे भएपनि आखिर सिसेक्पा तङ्नाम प्रकृति, मानव विकास र मानविय संवेदनाका अनेकौं पक्षहरुसंग गहिरो संवन्ध रहेका पाईन्छन् । विभिन्न कारणले बसाइँ सरेर वेलायत वस्ने किरातहरुले आफ्नो घरमा चाहेरपनि यस्ता परम्परागत चाडहरु मनाउन पाउदैनौं । आदिवासी लिम्बूहरुको चासोक तङ्नाम मंसिर पूर्णेमा उद्यौली, कक्फेवा तङनाम माघे संग्रान्ती, यक्वा तङनाम वैशाख पूर्णेमा उभौली, सिसेक्पा तङनाम सावने संग्रान्ती र वलिहाङ तङनाम दैसीभैलोमध्ये चासोक तङ्नाम प्रमुख चाडहरु हुन । तर बेलायतको मौसम अनुकुलता पारेर सिसेक्पा तङ्नाममा नै लिम्बूहरु सन् २००९ देखि हरेक वर्ष भेला भएर चाडका रुपमा मनाउने परम्परा वसिसकेको छ । यूकेमा यो दिनलाई खास गरी किरात लिम्बूहरु आफन्त, कुलकुटुम्वा भेट्ने एकमात्र वार्षिक भेटघाट गर्ने महत्वपूर्ण दिनका रुपमा विकास भए सकेको छ ।
कृष्णकुमार हेम्ब्या