१५ बैशाख २०८१, शनिबार
Follow Us

कर्णेल लामालाई एउटा मुद्दामा सफाइ

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७३, मंगलवार ०८:३७

श्रावण १७, २०७३- नेपाली सेनाका कर्णेल कुमार लामाले आफूविरुद्ध बेलायतमा लगाइएको यातना सम्वन्धि दुई मध्ये एउटा मुद्दामा सफाइ पाएका छन् । सरकार माओवादी सशस्त्र द्वन्द्वताका सैनिक व्यारेकमा थुनामा रहँदा लामाले आफूलाई चरम यातना दिएको भन्दै बन्दी करम हुसेनले मुद्दा दायर गरेका थिए ।

सोमबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा जस्टिस स्वीनीको इजलासले हुसेनको मुद्दामा सफाइ दिएको हो । तर, अर्का बन्दी जनकबहादुर राउतको लामाविरुद्धको यातना सम्वन्धि मुद्दामा भने १२ सदस्यीय जुरी सोमबारसम्म टुंगोमा पुग्न नसकेपछि आगामी सेप्टेम्बर पहिलो साता पुन: इजलास बस्ने गरि स्थगित भएको श्रोतले जानकारी दिएको छ ।

जुरीबीच १०, २ वा ११, १ को मत आवश्यक हुन्छ । ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइपछि गत सोमबार देखि जुरीबीच डेलिबरेसन (गहन छलफल) चलिरहेको थियो । करिब एक साताको डेलिबरेसनमा पनि जुरीले राउतको मुद्दामा लामालाई निर्दोष वा दोषी के भन्नेबारे फैसला दिन नसकेपछि इजलास करिब ५ साता पर सरेको हो ।

लामाको मुद्दा गत वर्ष अभियोजन पक्षले दोभाषे नभेट्टाएपछिसुनुवाइ स्थगित भएको थियो ।लामाको तर्फबाट किङ्सले नेप्ली फर्मले मुद्दा हेरिरहेको छ ।

सरकार माओवादी सशस्त्र द्वन्द्वताका११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग बेलायती प्रहरीले लगाएको थियो।

लामाले सरकार माओवादी सशस्त्र द्वन्द्वताका११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग बेलायती प्रहरीले लगाएको थियो।

लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत मुद्दा चलाइएको थियो । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेट्न बेलायत आउंदा सन् २०१३, जनवरी३मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो। दुई महिना दश दिन थुनामा रहेपछि उनी अहिले धरौटीमा छन् ।

– Ekantipur