१२ बैशाख २०८१, बुधबार
Follow Us

‘अमेरिकामा एनआरएन अध्यक्ष घलेको शाख गिराउने खेल’

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७४, आईतवार १०:११

लन्डन । गैरआवासीय नेपाली संघको नेतृत्व सम्हालेपछि सफलताको शिखर चुम्दै विदा हुन लागेका अध्यक्ष डा. शेष घलेलाई विवादमा तान्ने खेल सुरु भएको सूचना नेपाल ब्रिटेन डट कमलाई प्राप्त भएको छ । भूकम्प पीडितको पीडामा मल्हम लगाउने, लाप्राकमा नमूना वस्ती निर्माण गर्ने, एनआरएन भवनलगायतका परियोजना सञ्चालन गरेर चर्चामा आएका अध्यक्ष घलेको यो शाखलाई माटोमा मिलाउने तानाबाना अमेरिकामा बुनिदैछ । अध्यक्ष घलेको कार्यकाल आउँदो अक्टोबरमा सकिँदैछ ।

कार्यकाल सकिनुअघि अध्यक्ष घलेलाई अलोकप्रिय र विवादमा तानेर आफ्नो अभिष्ट पूरा गर्न अमेरिकास्थित नेपाली कांग्रेसको एक समूहले कम्मर कसेर लागेको बुझिएको छ । गैरआवासीय नेपाली संघ अमेरिकाको राष्ट्रिय निर्वाचनको बिषयमा अध्यक्ष घलेलाई विवाद तान्ने तयारी भएको समाचार स्रोतले बतायो ।
कांग्रेस नेता विष्णु सुवेदीको घरमा शनिवार साँझ बसेको बैठकले अध्यक्ष घलेको काँधमा बन्दुक राखेर आफू अनुकूलबाहेकलाई फायर गर्ने र गैरआवासीय नेपाली संघ अमेरिकाको नेतृत्व हडप्ने रणनीति बनेको नेपाल ब्रिटेन डट कमलाई प्राप्त सूचनामा उल्लेख छ ।

१२ अगष्टमा हुने गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका गौरी जोशीको उम्मेदवारी रद्द गरेर नेपाली कांग्रेस नेता डा. केशव पौडेललाई पुनः नेतृत्वमा ल्याउन प्रयास भइरहेको छ । त्यत्ति मात्र होइन, उक्त समूहले गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीलाई कार्यवाहीको माग गर्दै अध्यक्ष घलेलाई पत्र लेख्ने तयारी गरेको छ ।

गत बिहीवार साँझ गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचन समितिले अध्यक्षका प्रत्यासी गौरी जोशीको उम्मेदवारी रद्द गरेको थियो । उम्मेदवारी रद्द भएपछि जोशीले गैरआवासीय नेपाली संघलाई पत्र लेख्दै आफूले एनआरएन अमेरिकामा काम गरेको अभिलेखालय पठाइ दिन आग्रह गरेका थिए । जोशीको आग्रह बमोजिम महासचिव डा. केसीले सचिवालयको अभिलेख अनुरुप जोशी उम्मेदवार हुन योग्य रहेको पत्र लेखेका थिए ।

महासचिव केसीको पत्रका आधारमा निर्वाचन समितिले जोशीको उम्मेदवारी सदर गर्ने देखिएपछि गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक सोनाम लामालाई प्रयोग गरेर अध्यक्ष घलेमार्फत् अर्को पत्र ल्याउने दावी सो समूहले गरेको छ ।

गैरआवासीय नेपाली संघका एक पूर्वपदाधिकारीले नेपाल ब्रिटेन डट कमसँग भने, ‘विधानअनुरुप संगठनको जिम्मा महासचिवलाई हुन्छ, त्यसमा अध्यक्ष मुछिनु राम्रो होइन् ।’ उनले भने, ‘महासचिवको पत्र कुनै निर्णय वा आदेश होइन् सचिवालयमा रहेको अभिलेख मात्र पठाएको देखिन्छ । अभिलेख भन्ने कुरा अध्यक्षको पत्रले पनि काटिने बिषय बस्तु होइन् ।’

उनले अध्यक्ष घलेलाई कसैको भड्काहवमा नलागी संगठनको बृहत हित हेरेर अगाडी बढ्न आग्रह गरे । संघको केन्द्रीय समितिको बैठक अगामी हप्ता जर्मनीको फ्रयाङफोर्डमा हुदैंछ । उक्त बैठकमा छलफल गरेर निष्कर्ष निकाल्न सकिने उनले बताए ।

उनले गैरआवासीय नेपाली संघ अमेरिकामा अहिले भइरहेको विवाद संघभित्रको भन्दा नेपाली कांग्रेस समर्थकहरुको झगड भएको हुँदाँ लोक प्रियताको शिखरमा पुगेका अध्यक्ष घलेलाई विवादमा नतान्न् ती पूर्वपदाधिकारीले सुझाव दिए ।