१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेविसंघको सिपाही हुँ

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७३, मंगलवार १३:३६

कौशिला भट्ट, नेतृ नेविसंघ
नेपाल विद्यार्थी संघको अधिवेशन आउन अब एक साता पनि बाँकी छैन । अधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित नभएर त्यहाँ संगठनको भावी नीति कस्तो हुनेबारे पनि व्यापक छलफल हुनुपर्ने पद्मकन्या क्याम्पसकी विद्यार्थी नेतृ कौशिला भट्ट बताउँछिन् । परिवर्तित समयसँगै अब नेविसंघले पनि आफ्ना नीतिहरूमा परिवर्तन गर्दै सबै विद्यार्थीहरूको लोकप्रिय संगठन बनाउन अधिवेशन सफल हुने उनको विश्वास छ । नेविसंघको आसन्न महाधिवेशनबारे खगेन्द्र भण्डारीले गरेको कुराकानी ः
० नेविसंघको महाधिवेशन तोकिएकै समयमा हुन्छ त ?
– पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन समयमै हुनै पर्छ भनेर भन्दै आउनुभएको छ । अब अधिवेशन हुन्छ भन्नेमा म विश्वस्त छु ।
० प्रतिनिधि विवाद कायमै छ नि ?
– प्रतिनिधि विवाद नौलो होइन । यो समस्या पहिला पनि हुने गरेको थियो । यतिबेला प्रतिनिधि विवाद मिलाउन निर्देशक समितिमा छलफल भइरहेको छ भन्ने कुरा हामीले सुनेका छौं । त्यसकारण प्रतिनिधि विवाद धेरै लम्बिन्छ भन्ने मलाई लाग्दैन ।
० के कारण विगतमा महाधिवेशन हुन नसहेको हो ?
– पार्टी नेतृत्वकै कारण नेविसंघलगायतका भ्रातृसंस्थाहरूको अधिवेशन हुन नसकेको हो  । तर यतिबेला पार्टी सभापति देउवा भइसकेपछि उहाँले भ्रातृसंस्थाको अधिवेशनलाई प्राथमिकतामा राख्नुभएको छ । त्यसकारण पार्टी नेतृत्वले चाहेपछि जुनसुकै स्थितिमा पनि अधिवेशन हुन्छ ।
० पछिल्लो समय नेविसंघको आवश्यकता किन भनेर प्रश्न उठाउन थालिएको छ नि ?
– हामीले पनि यस्ता खालका प्रश्नहरू सुनेका छौं । हिजो निरकुंशताविरुद्ध सडकमा उत्रिने युवा विद्यार्थी संगठनहरूको औचित्य अब छैन भन्नु जायज हुँदैन । के हाम्रो काम सडकमा आन्दोलन गर्ने मात्र हो त ? स्वाभाविक रूपमा हिजो जस्तो अब निरकुंशताविरुद्ध आन्दोलन गर्नुपर्ने स्थिति छैन, तर यसो भन्दै गर्दा विद्यार्थी संगठनहरूको औचित्य छैन भन्नु गलत हो । हिजो आन्दोलन बाध्यता थियो, तर आज शिक्षा क्षेत्रमा देखिएका विकृतिविरुद्ध विद्यार्थी संगठनहरू लाग्नुपर्ने अवस्था छ । समयसँगै मुद्दाहरू फेरिन सक्छन् । सोहीअनुसार हामी पनि बदलिनुपर्छ ।
० विद्यार्थी संगठनहरू विद्यार्थीका मुद्दा बोकेनन् भन्ने गुनासो छ नि ?
– विद्यार्थीका मुद्दाहरूलाई उठान गरेर त्यसलाई निष्कर्षमा पु¥याउनुपर्ने हो, त्यो हुन सकेको छैन । तर यसो भन्दैमा विद्यार्थी संगठनहरू विद्यार्थीका मुद्दामा पूर्णरूपमा मौन छन् भन्ने होइन । म अरु विद्यार्थी संगठनको कुरा गर्दिन, तर नेविसंघ सधैं विद्यार्थीहरूका बीचमा छ ।
० नेविसंघको महाधिवेशनबाट विद्यार्थीहरूले के अपेक्षा गर्ने ?
–  संगठनको भावी कार्यदिशा र कार्यनीतिसमेत बनाउँछ । हामीले बनाउने कार्यनीति स्वाभाविक रूपमा आमविद्यार्थीहरूको हितका पक्षमा हुन्छन् । शिक्षालाई कसरी सर्वसुलभ, वैज्ञानिक र व्यावहारिक बनाउन सकिन्छ भन्नेबारे अधिवेशनले एउटा नीतिगत निर्णय गर्ने मैले विश्वास लिएकी छु ।
० तपाईले भनेजस्तो छलफल त कतै भएको देखिँदैन नि ?
– छलफल र बहसहरू विभिन्न हिसाबले भइरहेका छन् । बाहिर जुनरूपमा आउनुपर्ने हो, त्यो नआएको हुन सक्छ, तर नेविसंघको भावी नीतिबारे छलफल नै नभएको भन्ने होइन ।
० तपाईको तयारी के छ ?
– म अहिले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छु ।
० चुनावी एजेन्डा के छन्  ?
– म नेविसंघको इमान्दार सिपाही हुँ । नेविसंघले लिने नीतिहरू मेरा नीति हुन्छन् । ती नीतिहरूको कार्यान्वयनका लागि नेतृत्व तहमा दृढ इच्छाशक्ति भएको व्यक्तिको आवश्यकता पर्छ । त्यसकारण मैले मेरा व्यक्तिगत एजेन्डाभन्दा पनि संगठनले लिने नीतिहरूको कार्यान्वयनका लागि सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी हुँ ।
० कतिमा पढ्नुहुन्थ्यो राजनीति सुरु गर्दा ?
– आठ कक्षामा पढ्थे, नेविसंघको सदस्यता लिएर सक्रिय रूपमा लागें । त्यसपछि दुई कार्यकाल नेविसंघको जिल्ला सहसचिव भएर काम गरें । काठमाडौं आएपछि पद्मकन्या क्याम्पसमा भर्ना भएँ । नेविसंघ एकाइ अध्यक्ष भएर पनि काम गरें ।
० राजनीतिमा लाग्न के कुराले प्रेरित ग¥यो ?
– मेरो गृहजिल्ला डडेल्धुरा हो, जहाँ कांग्रेसको प्रभाव अत्यन्त धेरै छ । त्यसमा पनि मेरो बुबा कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । पार्टीको जिल्ला सभापति पनि बन्नुभयो । पारिवारिक प्रभाव त छँदै थियो, त्यसमा पनि पार्टी सभापति देउवाको जिल्लामा भएकाले पनि होला सानैदेखि मेरो बालमस्तिष्कमा राजनीति घुसिसकेको थियो । देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा हामी डडेल्धुरामा निरन्तर आन्दोलनमा थियौं ।
० पारिवारिक पृष्ठभूमि राजनीति गर्न सजिलो भयो होला होइन ?
– आठ कक्षा पढ्दा मलाई माओवादीले अपहरण गरेको थियो । तीन दिनपछि मलाई मुक्त गरियो । त्यो घटनाले परिवारमा चिन्ता बढायो, तर मेरो राजनीतिप्रतिको सक्रियता र मोहलाई परिवारले रोक्न सकेन ।
० तपाई पार्टीको महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ नि ?
– हो, म पार्टीको १२औं र १३औं महाधिवेशनमा निर्वाचित प्रतिनिधि हुँ । १२औं महाविधेशनमा देशभरको कान्छो महाधिवेशन प्रतिनिधि थिएँ, त्यतिबेला १९ वर्षकी थिएँ ।