रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्नुहुन्छ । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बस्नुभएको छ ।

विवाहपछि स–परिवार भारत पसेका उनीहरु त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमान्ले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता हुन थालेपछि नेपाल फर्किएको मनकुमारी बताउनुहुन्छ ।

नेपाल फर्किएपछि मनकुमारी बच्चा हुर्काउन थाल्नुभयो भने उहाँको श्रीमान् भने खाडी मुलुक गए । श्रीमान्ले विदेशमा कमाइ गरेर आएपछि सुख सयलसँग बस्ने सोचाइमा दिन बिताउँदै गएकी मनकुमारीलाई लामो समय बित्दासमेत श्रीमान्ले पैसा पठाएनन् ।

विदेशबाट पैसा नपठाएपछि उनी सदरमुकाम लिवाङ आउनुभयो । एक–एक वर्षको फरकमा जन्मिएका चारवटी छोरी हुर्कंदै थिए । छोरीको स्याहार सुसारमात्र होइन, उनीहरुको पढाइ लेखाइमा समेत ध्यान दिनुपर्ने भयो उहाँलाई ।

लिवाङमा ज्यालामजदुरी गरेर भए पनि छोरी पाल्ने सोचमा पुग्नुभएकी मनकुमारीे एक वर्षसम्म मजदुरी गर्नुभयो । यही बीचमा दाङको घोराहीमा कोठा लिएर बस्न भन्दै श्रीमान्ले विदेशबाट फोन गरेपछि उहाँ दाङ पुग्नुभयो । दाङ बसाइँका क्रममा समेत श्रीमान्ले पैसा पठाएनन् भने त्यहाँ ज्याला मजदुरीको काम पनि नपाएपछि अलपत्र पर्दै जानुभयो । दाङ बसाइँकै क्रममा श्रीमान् पनि विदेशबाट आए । लामो समय विदेश बसेको भए पनि खाली हात फर्किएका उहाँका श्रीमान्को दैनिकी जाँडरक्सी सेवन गर्नेमै सीमित हुन थालेपछि आफन्तको सहयोगमा उहाँ रोल्पाको घर्तीगाउँ फर्कनुभयो ।

रोल्पाको घर्तीगाउँ पुगेर आफन्तको सहयोगमा खाजा पसल शुरु गर्नुभयो । मनकुमारीले दिनरात दुःख गरेर कमाएको पैसा लगेर श्रीमान् जुवातास खेल्ने तथा जाँडरक्सी खाने गर्न थाले । यस्तो गर्दै जाँदा श्रीमान्ले झण्डै रु १५ लाख ऋण लगाएका थिए । उहाँले श्रीमान्ले लगाएको ऋणसमेत तिर्दै जानुभयो । कमाइ गरेको पैसा उडाउने मात्र नभई दिनरात कुटपिटको शृङ्खला बढ्दै जाँदा उहाँ सहेर बस्न नसक्ने निधोमा पुग्नुभयो ।

साना साना छोरीको अगाडि रुँदा बालमस्तिष्कमा नराम्रो असर पर्न सक्ने भएकाले छोरीहरुको अगाडि सधैँ खुसी भएको नक्कल गर्दै छोरीलाई खुवाइ सुताइ गरेपछि आफू भने रातभर रुने गरेको दुःखेसो पोख्नुभयो ।

श्रीमान्को यस्तो व्यवहारबाट आजित भएकी मनकुमारीले अन्ततः श्रीमान्सँग छोडपत्र गरी एक्लै बस्ने निर्णयमा पुगेर अदालतको ढोका ढकढक्याउन पुग्नुभयो । अदालतले पनि उहाँको पक्षमा सुनुवाइ गरेका कारण उहाँले दुई वर्ष पहिलेदेखि श्रीमान्सँग छोडपत्र गर्नुभयो ।

श्रीमान्सँगको छोडपत्रपछि कहाँ गएर के गर्ने भन्ने अन्योलमा रहेकी उहाँलाई महिला तथा बालबालिका कार्यालय, रोल्पा र अन्य महिला दिदीबहिनीलेसमेत सहयोग गरें । साना छोरीहरुलाई कहाँ बसाल्ने, के खुवाउने भन्ने चिन्ता भएका बेला महिला मानवअधिकार रक्षक सञ्जाल, महिला तथा बालबालिका कार्यालयलगायत निकायको आर्थिक सहयोग तथा परामर्शपछि आफू लिवाङमै बसेर आयआर्जनको काममा लाग्ने सोचमा पुगेको उहाँले बताउनुभयो ।

अहिले उहाँ सदरमुकाम लिवाङमा खाजा पसल गर्नुभएको छ । महिला तथा बालबालिका कार्यालय, रोल्पाले दिएको रु २० हजार आर्थिक सहयोगबाट खाजा पसल शुरु गर्नुभएकी उहाँले अहिले चारवटी छोरीको पढाइ लेखाइका साथै घरायसी व्यवहारसमेत चलाउँदै आउनुभएको छ । जेठी छोरी कक्षा १२ मा पढिरहेकी छिन् भने अरु छोरीको पढाइ पनि राम्रो रहेका कारण आफ्नो बुढेसकालको सहारा तिनै छोरी भएकाले छोरीको पढाइमा आफूले सक्दो लगानी गर्ने मनकुमारीले बताउनुभयो ।

आफ्नै खुट्टामा उभिएर खाजा पसल सञ्चालन गरिरहेकी उहाँले मासिक रु छ हजार घरभाडा तिर्दै आउनुभएको छ । दैनिकी सजिलै चलाएकी उहाँले छोरीहरुलाई राम्रोसँग पढाउनुका साथै दैनिक बचत पनि गर्ने गरेको बताउनुभयो ।

देशमा रोजगारीको अवसर नहुँदा रोल्पाका अधिकांश पुरुष वैदेशिक रोजगारीमा रहेका छन् । वैदेशिक रोजगारीले जिल्लामा ठूलो मात्रामा विप्रेषण भित्र्याए पनि पारिवारिक बेमेल र विखण्डनका घटनासमेत बढिरहेका छन ।

वैदेशिक रोजगारीले महिला र पुरुष दुवैलाई प्रभाव पारिरहेको छ । जिल्लामा कतिपय महिला श्रीमान्ले विदेशबाट पठाएको पैसा दुरुपयोग गर्दै सम्बन्धविच्छेद गरेका छन् भने कतिपय पुरुषसमेत वैदेशिक रोजगारीमा गएको लामो समयसम्म घर नफर्कने, दोस्रो विवाह गर्ने, कमाइ गरेको पैसा घरमा नपठाउने गरी महिलामाथि हिंसा गरिरहेका छन् ।
– उमा केसी