६ चैत्र २०८०, मंगलवार
Follow Us

विश्वकपमा छनोट हुन नेपाली टोली असफल

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७४, मंगलवार ११:०४

काठमाडौं । नेपाललाई हराउँदै अफगानिस्तान आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मंगलबार भएको एसियाली समूहको अन्तिम छनोट खेलमा नेपाललाई ९६ रनले हराउँदै अफगानिस्तान विश्वकपका लागि छानिएको हो ।
सिंगापुरमा भएको खेलमा अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ४३औं ओभरमा अलआउट हुनुपूर्व ९९ रनमात्रै जोड्न सक्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४५ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले स्तरीय प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ अफगानिस्तानका योसुफ जाजीले ४ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । अफगानिस्तानका लागि शतकीय पारी खेलेका सुरुआती ब्याट्सम्यान इब्राहिम जद्रानले ११४ बलमा ७ चौका र ५ छक्काको मद्दतमा १०१ रन बनाँउदै जितको आधार तयार पारेका थिए ।
यसअघि, प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई अफगानिस्तानले १४१ रनको विशाल अन्तरले हराएको थियो । प्रतियोगिताका सबै ६ खेल जितेको अफगानिस्तान १२ अंकसहित विश्वकपमा छनोट हुँदा ८ अंक जोडेको नेपाल दोस्रो स्थानमा समेटियो । समूहमा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपका लागि छानिने प्रावधान छ ।