६ चैत्र २०८०, मंगलवार
Follow Us

बेलायतले पेट्रोल डिजेलबाट चल्ने सवारीमा बन्देज लगाउने

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७४, बुधबार ११:०२

लण्डन – बेलायतले सन् २०४० सम्ममा शत प्रतिशत रूपमा नै पेट्रोल तथा डिजेलबाट चल्ने सवारीमा बन्देज लगाइने नीति ल्याउने भएको छ ।

जनस्वास्थ्यलाई मध्येनजर गर्दै अदालतले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खालका ग्याँसहरूको उत्पादनमा रोक लगाउन लागि सरकारलाई आदेश दिएको थियो।

वायु प्रदुषणका कारण मात्रै ब्रिटेनमा चालिस हजार मानिसहरूको मृत्यु भइसकेको एक तथ्यांकले बताएको छ ।

यसअघि सन् २०३० सम्ममा भारतले विघुतीय सवारीको प्रयोग गर्ने नीति ल्याइसकेको छ भने फ्रान्सले सन् २०४० सम्ममा विघुतीय सवारीको प्रयोग गर्ने नीति ल्याएको छ । पेट्रोल डिजेल लगायतका इन्धनको प्रयोगले वातावरण प्रदुषणको दर दिन प्रतिदिन बढ्दै गएकोले गत महिना मात्रै फ्रेन्च सरकारले यस्तो महत्वाकांक्षी योजना ल्याएको थियो ।

भारत, बेलायत, फ्रान्स लगायतका मुलुकहरू सबैभन्दा बढी तेल आयातकर्ता मुलुकहरुमध्येको सूचीमा पर्छन् । तेलको आयातलाई शत प्रतिशत घटाउनका लागि विघुतीय सवारीको प्रयोग एक मात्र विकल्प भएकोले यी देशहरूले विद्युतीय सवारी प्रयोगको रणनीति ल्याउन लागेका हुन् ।

वार्षिक रुपमा इन्धन आयातमा ठूलो धनराशी यी मुलुकहरूले खर्चिने गरेका छन् । विघुतीय सवारीको उत्पादनको सुरुवातका समयमा सरकारले निर्माण कम्पनीलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय समेत बेलायती सरकारको छ ।

दिनप्रति दिन बढ्दै गएको वातावरण प्रदुषणको श्रृङ्खलालाई न्यून गर्नका लागि यस्तो योजना ल्याइएको लण्डन स्थित वातावरण मन्त्रालयले जनाएको छ ।

विघुतीय सवारीको प्रयोगले पूर्ण रुपमा वातावरण प्रदुषणको असरलाई नियन्त्रण गर्ने लक्ष्यमा साथ सरकारले यस्तो नीति ल्याउन लागेको हो । विश्व स्वास्थ्य संगठनले गरेको एक अनुसन्धान अनुसार अत्याधिक रुपमा वायु प्रदुषण हुने विश्वका २० मुलुकहरु मध्येको सूचीका भारत पनि पर्ने गर्छ ।