१३ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७४, बुधबार १६:२९

काठमाडौं । सर्लाहीबाट चारदिन अघि काठमाडौँ आएका सियाराम रायको अरु काम सक्किएपनि चाँडै मन्त्रिपरिषद् विस्तार हुने खबरले उहाँको बसाइँ लम्बियो । “आज बिहानदेखि फूल बोकेर हिँडेको थिएँ, साँझ काम लाग्यो”–रायले भन्नुभयो ।

आफूले चिनेका नेता वीरबहादुर बलायर मन्त्री बन्ने चर्चा केहीदिन अघिदेखि सुनेको तर मन्त्रालय भने आज शपथग्रहणपछि मात्र थाहा पाएपछि उहाँ अपराह्न ४ बजे सिंहदरबारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको परिसरमा फूल लिएर पुग्नुभयो । कर्मचारी र शुभेच्छुकको लाममा बसेर रायले मन्त्री बलायरलाई बधाई दिएपछि उहाँ हँसिलो चेहरा लिएर नजिकै रहेको अन्य मन्त्रालयका मन्त्रीको बहाली हेर्न लाग्नुभयो । अन्य मन्त्रालयको तुलनामा भौतिक पूर्वाधार मन्त्रालयमा स्वागत गर्नेहरुको भीड बाक्लो थियो ।

भौतिक मन्त्रालयकै भवनमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयमा बहालीका लागि आउनुभएका महेन्द्र यादवको स्वागत पनि रायले हेर्न भ्याउनुभयो । कृषि अनुसन्धान केन्द्र (नार्क) का कर्मचारी बौधनाथ न्यौपानेले पनि रामकृष्ण यादव मन्त्री हुने सुनेपछि आज बिहानैदेखि फूल हातमा लिएर हिँड्नुभएको थियो ।

नवनियुक्त कृषिमन्त्री रामकृष्ण यादवलाई उहाँले लेखा समितिको सभापति भएदेखि नै चिन्हुभएको हो । न्यौपानेले भन्नुभयो, “मन्त्रीज्यूको पालामा कृषिमा ठोस् काम भइदिए हुन्थ्यो, म केहीदिनपछि लिखित सुझाव लिएर आउँछु”–न्यौपानेले भन्नुभयो ।

सहरी विकास मन्त्रालयमा काम लिएर आएका सोलुखुम्बु नेचा सल्यान गाउँपालिकाका नगर विकास समितिमा नवनियुक्त अध्यक्ष सीताराम भट्टराईलाई कुनै मन्त्रीलाई प्रत्यक्ष बधाई दिनुपर्ने नभएपनि स्वागत कार्यक्रमको दर्शक बन्नुभयो । “बिहानै जिल्ला फर्काैँ कि भन्ने लागेको थियो तर आज नयाँ मन्त्रीको बहाली हेरेर जाउँ भन्ने लागेर यतै बसेँ”–उहाँले रासससँग भन्नुभयो । नेपाली काँग्रेसका पूर्वसांसद् सरस्वती चौधरीले पनि कृषिलगायत अन्य तीन मन्त्रीलाई बधाई दिन भ्याउनुभयो ।

मन्त्रिपरिषद्मा आज १९ सदस्य थप भएसँगै पदबहाली र स्वागतका लागि कर्मचारी, शुभेच्छुक र सुरक्षाकर्मी तथा पत्रकारको ओहोरदोहोर सिंहदरबारमा ह्वात्तै बढेको पाइयो । मुलुकमा संघीयता लागू भई गाउँगाउँमा सिंहदरबारका अधिकार लग्ने प्रमुख दलहरुको चुनावी प्रतिबद्धता भए पनि शक्ति र केन्द्रीय सरकारबाट आफ्नो काम बन्छ भन्नेहरुको कमी छैन । कामै नहुनेहरुले पनि आफ्ना नेता वा आफन्तलाई बधाई दिने पनि देखिएका छन् ।

एकैपटक धेरै मन्त्री नियुक्त भएको र बधाई दिन आउने सबैलाई मन्त्रालयले कार्यालयबारे जानकारी नभएकाले जानुपर्ने भन्दा अर्काे मन्त्रालयमा पुगेर फलानो मन्त्रालय कता हो भन्दै सोधेको दृश्य पनि देखियो । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएको डेढ महिनापछि मन्त्रिपरिषद् विस्तार भएकाले मन्त्रालय, निकाय, सरोकार भएका र राजनीतिक कार्यकर्तामा उत्साह उत्पन्न भएको हो ।

विनाशकारी भूकम्पपछि कतिपय मन्त्रालयले कार्यालय नपाएपछि एकै भवनमा कार्यालय रहेपछि दुई मन्त्रीको स्वागतका लागि बसेका कर्मचारी र शुभेच्छुकको एउटै लामजस्तो पनि बन्यो । आफूले स्वागत गर्र्नुपर्ने मन्त्री आउन बाँकी रहेपछि उनीहरु झण्डा फहराएको गाडीतर्फ नलम्की हातको फूल बचाएर राख्न विवश बनेका थिए ।

सुख्खा खेतमा सिँचाइ
नवनियुक्त कृषिमन्त्री यादवले पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै किसानको समस्या समाधान गर्न आफू प्रतिबद्ध हुने बताउनुभयो । उहाँले सुख्खा र बाँझोको समस्या भएको खेतीमा सिँचाइका लागि पहल गर्ने बताउनुभयो । उहाँलाई मन्त्रालयका सचिव डा सुरज पोखरेलले स्वागत गर्नुभएको थियो ।

दूधमा आत्मनिर्भर नीतिको निरन्तरता
पदबहाली गर्दै पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले मुलुकलाई दूधमा आत्मनिर्भर बनाउने सरकारको नीतिको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँलाई मन्त्रालयका सचिव युवकध्वज जिसीले स्वागत गर्नुभएको थियो ।
– प्रकाश सिलवाल