१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘मुल बाटो बिराएर दोबाटोमा अलमलिएको एनआरएन’ (टिप्पणी)

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७४, बुधबार १७:३३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन जति नजिकिदै छ उति नै नयाँ विवादले स्थान बनाउँदैछ । सुरुका दिनमा यसलाई स्वभाविक रुपमा हेरिन्थ्यो, किनभने एनआरएनको विधि र विधानले परिपक्वा रुप धारण गरिसकेको थिएन । एक दशकको अनुभवमा एनआरएनले विविध अनुभव हासिल गरिसकेको छ । यो अवधि परिपक्व बन्न पर्याप्त समय होइन, यद्यपि विधि विधानको अनुभव भने पक्कै हासिल गरिसकेका छ, तर नयाँ विवाद सिर्जना हुने क्रम पनि रोकिएको छैन ।

पछिल्लो समय नेतृत्व समाल्न आइपुगेका अध्यक्ष डा. शेष घले पटक–पटक विवादमा तानिए । गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनका सन्दर्भमा संघका महासचिव डा. बद्री केसी र अध्यक्ष घलेको टकरावले विश्वभरका एनआरएनलाई फेरि एकपटक तरंगीत पारेको छ । यी दुई बीचको टकराव व्यक्तिगत भन्दा संस्थाको शक्ति बाँडफाँड र विधानको कार्यान्वयन गर्ने प्रकृयामै मतभेद देखियो ।

अध्यक्ष घले आफू निर्वाचित अध्यक्ष भएकाले कार्यकारी अधिकार अध्यक्षमा निहीत ठान्छन् । तर विधानले समूहिक नेतृत्वको परिकल्पना गर्दै पदाधिकारीबीच समन्वयनमा जोड दिएको छ । महासचिव डा. केसी महाअधिवेशनबाटै निर्वाचित भएर केन्द्रीय नेतृत्वमा पुगेका हुन् । उनको काम कर्तव्य र अधिकार विधानमा प्रस्टै लेखिएको छ ।

पछिल्लो विवादको मूल जड एनआरएन अमेरिका ठानिए पनि अध्यक्ष घले र महासचिव केसीबीचको अधिकार बाँडफाँडको हो । एनआरएन अमेरिकाको निर्वाचनमा लोकप्रिय अनुहार गौरीराज जोशीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे । उनको उम्मद्वारी रोक्न एउटा समूह सुरुदेखि नै सक्रिय थियो । गैरआवासीय नेपाली संघका अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पालाई समेत सो समूहले ग्रीपमा लिएर विवादलाई नयाँ मोड दियो ।

मूलतः अमेरिकामा रहेको नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति विवादको चरम उत्कर्ष एनआरएनमा प्रवेश गरेको छ जसले आफ्नो सस्था अमेरिकामा जस्तो बनाए आज एनआरएन पनि उस्तै बनाउने प्रयासले मुर्त रुप पाउँदै छ ।

अमेरिकास्थित नेपाली कांग्रेसको एक समूहले तत्कालीन नेपाली कांग्रेसको सभापति सुशील कोइरालाको सहयोगमा शेष घले केन्द्रीय अध्यक्ष बन्न सफल भएको ठान्छ । सो समूह वादविवाद र झगडामा मनोरञ्जन लिने समूह हुन । उनिहरु आफु निर्वाचनमा हारेर पनि जित्ने पक्षलाई हराउन केन्द्रित छन । अहिले उसले आफ्नो उद्देश्य पूरा गर्न अध्यक्ष घलेको काँधमा बन्दुक राखेर फायर गर्न सफल भएको विश्लेषण गरिएको छ ।

त्यही समूहले गौरी जोशीलाई रोक्न केही सीप नलागेपछि अन्तिममा उनको योग्यतामाथि प्रश्न उठाउँदै उम्मेदवार बन्न रोक्ने प्रयास भयो । जोशीलाई रोक्न अध्यक्ष शेष घलेको प्रयोग गर्न त्यो समूह सफल भयो । उनीहरु जोशीविरुद्धको लडाइँ अब शेष घले आफै लड्न लागेकोमा दंग छन् ।

एनआरएन अमेरिको निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूचि प्रकाशित गर्दा डा. केशव पौडेल, रविना थापा, कृष्ण पोखरेल र रामसी पोखरेल नाम थियो । लोकप्रिय उम्मेदवार जोशीको नाम सूचिमा थिएन । यो विषयले अमेरिकाको नेपाली समुदायमा ठूलो तरंग ल्याइदियो ।

समुदायको दवाब थाम्न नसकेपछि निर्वाचन आयोगले उम्मेदवारका लागि आवश्यक योग्यता पेश गर्न समय दियो । त्यसपछि जोशीले आफूले एनआरएन अमेरिकाको संस्थागत टोलीमा काम गरेको प्रमाण उपलब्ध गराइदिन भन्दै केन्द्रमा पत्राचार गरे । संघको अभिलेख राख्ने अधिकार विधानतः महासचिव केसीको हो । उनले अभिलेखको आधारमा त्यसको जवाफ दिँदै महासचिव डा.केसीले रेकर्डअनुसार उनको विवरण उपलब्ध गराइदिए । अध्यक्ष शेष घलेले सो विषयमा छलफल गर्न भन्दै पदाधिकारीको आपतकालीन बैठक बोलाए ।

बैठकले सामान्य विवादलाई अन्त्य गर्दै एनआरएन अमेरिकालगायतका देशको निर्वाचन शान्तिपूर्ण तरिकाले अगाडी बढाउन आग्रह गर्दै प्रेश विज्ञप्ति जारी गर्ने निर्णय ग-यो । विज्ञप्तिको ड्राफ्टमा छलफल हुदाँहुदैं अध्यक्ष घलेले अर्को पत्र पठाएर डा. केसीको पत्रको वैधानिकतामाथि प्रश्न उठाए ।

अमेरिका संयोजक सोनाम लामा र एसी शेर्पाले आफू अनुकूल पत्र अध्यक्ष घलेले नदिए पदबाटै राजिनामा गर्ने धम्की दिएको चर्चा चल्यो । संघका संरक्षक दिलबहादुर गुरुङले महासचिव डा. केसीको संघभित्र दादागिरी बढेको, अध्यक्ष घलेको मानमर्दन गरेको भन्दै केसीको पत्र बद्दर गर्न घलेलाई सुझाएका थिए ।

विधानले दिएको अधिकार प्रयोग गरी रेकर्डअनुसार तथ्य उपलब्ध गराइदिँदा कसरी गलत भयो भन्ने प्रश्न गर्र्दै अहिले महासचवि डा.केसीले आफूसहित अध्यक्ष घले, अमेरिका संयोजक सोनाम लामालाई अनुसाशन समितिमार्फत् चुनौति दिएका छन् । अब यो विषय अनुशासन समितिमा छलफल हुनेछ । गैरआवासीय नेपाली संघको १४ बर्षे अभियानमा संस्थाको अध्यक्षविरुद्ध औपचारिक रुपमा अनुसाशन समितिमा उजुरी गरेको यो पहिलो घटना हो । अब शेष घलेले अनुशासन समितिमा बयान दिन बाध्य हुनु पर्नेछ ।

करिब ४ बर्ष अघि संघको नेतृत्व समालेका घलेका लागि बाँकी ३ महिना भने अब सुखद् नहुने संकेत देखिएको छ । नेपालको भूकम्पमा गरेको सहयोग, एनआरएन भवन, लाप्राक परियोजनालगायतको कामले लोकप्रिय बनेका घलेको पछिल्लो निर्णयले शाख गिरेको त छ नै त्योभन्दा बढी चिन्ता गलत नजिर बस्ने छ । त्यसले संघकाे अभियानमा दिर्घकालिन असर पुग्ने छ ।

गैरआवासीय नेपाली संघको अमेरिकाको विवाद अन्त्य नगरी घले अक्टोवरमा हुने विश्व सम्मेलनमा होमिए भने उनको कार्यकालको विदाई बिर्सनलायक हुनेछ । महासचिव केसीले घलेविरुद्धको अभियानलाई चुनावी मुद्दा बनाउने प्रायः निश्चित छ । अध्यक्ष घलेसँग रुष्टको समूहले केसीलाई सघाउने छ । त्यसैको आधारमा उनले संघको उपाध्यक्ष पद हात पर्ने अवस्था अाउने छ ।

समग्रमा पछिल्लो विवादले शाख गिर्दै गइरहेको गैरआवासीय नेपाली संघ झनझन कमजोर भन्दै गइरहेको अनुभव एनआरएनहरुले गरेका छन् । समय अझैं घर्केको छैन् । संघभित्रको अहिले देखिएको विवादलाई गैरआवासीय नेपाली संघको बैठकमार्फत् अन्त्य गर्ने जिम्मा नेतृत्वमा छ ।

समयमै सोचेर समस्याको समाधान नगरिए ‘हतारमा निर्णय गर्ने फुर्सदमा पछुताउनु पर्ने’ हुन्छ र यहि गलत निर्णयले एनआरएनलाई बर्षाैसम्म पिरोल्छ । हिजो कसरी घले अध्यक्ष भए र कसले कस्तो भुमिका खेलेको भन्ने कुरा विर्सेर आज एनअारएन जसरी अगाडी बढेकाे छ त्यसमा एनआरएनका संस्थापक अभियान्ताहरु लाज मुख छोपी रहेका छन ।

र, भन्दै छन एनआरएनमा जे कुरा गर्नै नहुने थियो त्यहि हुँदैछ यसले एनआरएनको फाउण्डेसन ध्वस्त हुन्छ । अगामी शनिवार देखी जर्मनीको फ्रयाङफर्डमा संस्थापकहरु, अमेरिका स्थित नेपाली एनआरएन नेताहरुको समेत उपस्थिती रहने यूरोप क्षेत्रीय बैठक एनआरएनको हल्लिन लागेको फाउण्डसेनलाई कसिलो बनाउन रसायन बन्न सक्छ ।