४ बैशाख २०८१, मंगलवार
Follow Us

राप्रपा भक्तपुरमा विवाद चर्कियो

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७४, बिहीबार ०५:४८

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरमा दुई पक्षबीचको विवाद कै कारण जिल्ला अध्यक्ष दिनेश श्रेष्ठको राजीनामा माग गर्नेलाई पार्टीबाट निष्कासन गरेपछि थप विवाद चर्किएको छ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेका कारण पार्टीले जिल्लामा हार व्यहोर्नु परेको आरोप खेप्दै आउनु भएका जिल्ला अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेपछि उहाँले जिल्ला सदस्यदेखि केन्द्रीय सदस्यसमेतलाई कारबाही गर्नुभएको हो ।

जिल्ला समितिको बैठकले जिल्ला सदस्य माधव खत्री, चाँगुनारायण नगर समिति सदस्य रामशरण लामिछाने र भक्तपुर नगरसमिति अध्यक्ष राजेन्द्र लाखालाई पार्टीबाट निष्कासन गरिएको जिल्ला सचिव मुकुन्द कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी, केन्द्रीय सदस्यद्वय रवीन्द्रप्रताप शाह र यवती कार्की तथा केशवप्रसाद अधिकारी र लवकुमार कार्कीलाई कारबाही गर्ने जिम्मेवारी भने केही दिनअघि मात्रै केन्द्रीय सदस्यमा मनोनित भएका सानुकाजी हेक्का, सुरेन्द्र केसी र रामेश्वर थापालाई जिम्मेवारी दिएको उहाँले जानकारी दिनुभयो ।

भक्तपुरमा अध्यक्ष श्रेष्ठ पार्टी अध्यक्ष कमल थापा समूहका र कारबाहीमा पर्नेहरु नेता पशुपति शमशेर राणा पक्षधर हुन् । दुई पक्षबीच चुनाव अगाडिदेखि नै मतभेद कायम रहँदै आएको र पछिल्लो समयमा विवाद चर्किएको राप्रपा जिल्ला समितिका पदाधिकारीले बताएका छन् ।

अध्यक्ष श्रेष्ठले चुनावमा अन्तर्घात गरेको, पार्टी हित विपरित काम गरेको र भक्तपुरको पार्टीलाई प्रभावकारी रुपमा चलाउन नसकेपछि उहाँको राजीनामा लिएर नयाँ ढंगबाट पार्टी संगठनलाई अगाडि बढाउने भन्दै विपक्षीले विरोध गरेका थिए ।

यता केन्द्रीय सदस्य शाहले भने अध्यक्ष श्रेष्ठले राप्रपा निकट जनताले अध्यक्षको विकल्प खोजेको प्रतिक्रिया दिँदै विधानविपरित निर्वाचित पदाधिकारीलाई कारबाही गरे भन्नु गलत भएको बताउनुभयो ।

चुनावपछि अध्यक्षले समीक्षा बैठकसमेत राख्न नसकेको बताउँदै उहाँले अल्पमतको बैठक र विधानविपरीत भएको कारबाहीको कुनै अर्थ नराख्ने बताउनुभयो ।

राप्रपा जिल्ला समितिको मङ्गलबार बसेको बैठकमा २९ कार्यसमिति सदस्य रहेकामा १७ कार्यसमिति सदस्यले बैठक बहिस्कार गरेको र बैठकमा सहभागीले समेत ‘नोट अफ डिसेन्ट’ लेखेको बैठकमा सहभागीले बताएका छन् ।