१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनमा चुनाव लागि सक्यो — पूर्व प्रबक्ता डा. शर्मा

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७३, मंगलवार १८:१६

लन्डन । गैरआवासीय नेपाली संघ सन् २०१७ को अक्टोवर महिनामा हुने नयाँ नेतृत्वको चुनावी सरगर्मी सुरु भैसकेको खुलासा भएको छ । गैरआवासीय नेपाली सँघका पूर्व प्रबक्ता डा. हेमराज शर्माले आइतवार सम्पन्न यूरोप बैठकको समिक्षा गर्दै आफ्नो फेसबुक टाइमलाइन मार्फत उक्त खुलासा गरेका हुन् । उनले भने ‘सन् २०१७ को अक्टोबरमा हुने चुनावको चहल पहल अहिले देखि नै देखिनु राम्रो होईन’। उनले आफ्नो टाइमलाइनका थोरै चुनावी चर्चा गरेता पनि बैठक सम्मेलन स्थलमा अगामी अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र भवन भट्टले आआफ्नो चुनाव रणनीतिमा लागेका थिए । सोही बैठकमा उनीहरुले वर्तमान अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो तथा प्रमुख संरक्षक जीवा लामिछानेको मन जित्न बिभिन्न खाले बैठकमा सहभागी थिए ।

डा. शर्माले आफ्नो फेसबुक मार्फत डेनमार्क बैठक माथि यस्तो टिप्पणी गरेका छन् ।

डेनमार्कको राजधानी कोपेनहेगनमा सम्पन्न एनआरएनको नबौ युरोपियन बैठक र सातौ यूरोपियन महिला सम्मेलन विशेष रह्यौ। २२ देशबाट ३०० जनाको सहभागिता रहेको यस बैठकले विश्व सम्मेलनको झझल्को दिएको थियो। एनआरएन अभियानका सँस्थापकहरु देखी अहिलेका कार्यसमितिका सबै जसो पदाधिकारीहरु, उधोग बाणिज्य महासंघका अध्यक्ष तथा कार्यकारी सदस्य, दर्जनौ पत्रकार (नेपालबाट मात्रै ७ जना) को उपस्थिति थियो। यस पटकको बैठक फरक किसिमको हुनु पर्ने क्षेत्रीय संयोजक कुल आचार्यको चाहान अनुसार कार्यक्रमको मोडालिटी तयार गर्ने जिम्मेवारी मलाई दिईएको थियो। कार्यक्रम खादा, मञ्च, हाईरार्की र भाषणमा केन्द्रिय हुनु हुदैन भन्ने मेरो मान्यतालाई आंशिकरुपमा भए पनि यसपाली लागु गर्न सकियो।

उद्घाटन समारोहमा मञ्च राखिएन, कसैलाई खादा ओडाईएन। पट्यारलाग्दा भाषणको सट्टा अन्तर्कृयात्मक कार्यशाला राखियो। लगानी, पर्यटन, च्यारिटी, यूरोपका नेपालीका समस्या र संघको आन्तरीक निती शिर्षकका ५ कार्यशालामा सबै सहभागीले आफ्ना विचारहरु राखेका थिए। एनआरएनमा पहिलो पटक गरिएको यस्तो खालको कार्यशालाबारे शुरुमा धेरैजना संसकित भए पनि कार्यशाला पछि सबै खुशी देखिन्थे। महिला, युवा, दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरु, नविनतम विषयलाई उचित स्थान दिनु पर्छ भन्ने मान्यता बमोजिम जबर्जस्त राखिएका केही कार्यक्रमहरु अन्तत: सोचे भन्दा बढी उपलब्धी मुलक भए। तर सबै कुरा सकरात्मक मात्र भएनन। बैठक आयोजना भएको होटल असाध्यै महङ्गो भएको, सिटिबाट टाढा रहेको, स्थानिय ब्यवस्थापनलाई अझै चुस्त बनाउन सकिने आदि गुनासो सहभागी रहेको सुनियो।

‘काम गर्ने कालु मकै खाने भालु’को परम्परालाई पूर्णरुपमा जोड्न सकिएन। २०१७ को अक्टोबरमा हुने चुनावको चहल पहल अहिले देखि नै देखिनु राम्रो होईन। एनआरएन डेनमार्कका अध्यक्षको जुझारूपन प्रसंशनीय थियो। उहाँ लगायत कार्यक्रम सफल बनाउन अहोरात्र खटिने सबैजना साथीहरुलाई बधाई तथा धन्यबाद। यसपालाको यात्रा र कार्यक्रमको धपडी शरीरले धान्न सकेन तर अहिले ठिक छ। चिन्ता गर्ने सबै साथीहरुलाई धन्यबाद।